नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कोरोनाभाइरससँग जुध्न स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ काम गर्नुपर्ने बताएका छन्।
कोरोनाको महामारीबाट मुक्ति पाउन स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको नेतृत्वबाट जीत हासिल गर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरेका हुन्।
आइतबार विज्ञप्ति निकालेर महामन्त्री कोइरालाले कोरोनासँग जुध्न सरकारले गरेका प्रयत्नलाई कांग्रेसले निरन्तर साथ दिँदै आएको उल्लेख गरेका हुन्।
‘विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरससँग जुध्न सरकारले गरिरहेका प्रयत्नहरुलाई नेपाली कांग्रेसले निरन्तर साथ दिंदै आएको छ। लकडाउनको पालना गरेर जनताले यो संघर्षप्रति एक्यवद्धता जनाइरहेका छन्। परिणाममुखी रूपमा कार्य गर्न निर्मित वातावरण उपयोग गर्दै अब स्वास्थकर्मी र सुरक्षाकर्मीको नेतृत्वमा हामीले संघर्षमा जीत हासिल गर्नुपर्दछ,’ कोइरालाले भनेका छन्।
कोइरालाले आफू लामो समय चिकित्सकका रूपमा सेवा र प्राध्यापन समेत गरेको भन्दै सरकार र स्वास्थकर्मीहरुका नाममा अपिलसमेत सार्वजनिक गरेका छन्।
यस्तो छ कोइरालाले जारी गरेको अपिल:
१, कुनैपनी स्वास्थकर्मी निश्चित भत्तालेभन्दा मानवीय भावनाले अभिप्रेरित रहन्छन्। बिरामीको उपचार गर्न उनीहरुमा रहेको त्यही मानवीय भावना, समर्पण र साहस नै आजको विश्वब्यापी महामारीबाट बाहिर निक्लने मुख्य मार्ग हो। अत म नेपालभरिका सबै स्वास्थकर्मीमा आजको यो प्रतिकूल परिस्थितिमा उच्च मनोबल साथ कार्य गर्न एक चिकित्साकर्मीसमेतका नाताले अपिल गर्दछु।
२, स्वास्थकर्मीहरुका लागि अनिवार्य पिपिईको प्रबन्ध समयमै गर्न नसक्नु आजको सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारी हो। यथाशीघ्र देशब्यापी रूपमा पिपिई पुर्याएर संभावित संक्रमितको परिक्षण एवं संक्रमितको उपचारमा स्वास्थकर्मीको मनोबल उच्च बनाउन म सरकारसँग अनुरोध गर्दछु।
३, विश्व स्वास्थ्य संगठनले बढीभन्दा बढी परिक्षणका लागि अपिल गरेको छ। हामी केवल टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परिक्षण गरेर परिक्षणको चाप धान्न सक्दैनौं। केही थप ठाउँमा शुरु गर्न लागिएको सकारात्मक छ, तर ७ प्रदेशमै परिक्षण गर्ने ब्यवस्था अब ढिलाइ नगरी शुरु गर्न र क्रमशः त्यसलाई सबै जिल्लामा विकेन्द्रीत गर्न म सरकारलाई विशेष अनुरोध गर्दछु।
४, हालसम्म पाँच जनामा कोरोना संक्रमण देखिएको छ। तर उनीहरु यसबीचमा घुलमिल भएको परिवारका सदस्य, छरछिमेकी एवं ब्यक्तिगत साथिसमूहको परिक्षण गर्न जरुरी तदारुकता र उच्च सतर्कता सरकारले नदेखाउनु दु:खद छ। तत्काल परिक्षण गर्ने ब्यवस्था मिलाउन म पार्टीका तर्फबाट सरकारलाई अनुरोध गर्दछु।
५, लकडाउनमा घरभित्र बसेका जनतालाई संक्रमणको कुनै आशंका हुनासाथ घरबाटै सावधानीपूर्वक ल्याएर परिक्षण केन्द्रमा पुर्याउने ब्यवस्था गर्न म सरकारलाई आग्रह गर्दछु। त्यसरी आइसोलेसन र संक्रमित देखिए सुरक्षित उपचारको ब्यवस्थाले मात्रै सम्बन्धित ब्यक्तिबाट अन्यमा फैलिन रोक्न सकिन्छ।