सुदूरपश्चिम युवा समाजले मन्त्री र सांसदलाई दबाब दिन एसएमएस अभियान थालेको छ।
चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस विरूद्ध प्रदेशमै परीक्षण ल्याब स्थापनाको माग गर्दै दबाबमूलक एसएमएस अभियान थालिएको हो।
सुदूरपश्चिमका विभिन्न जिल्लामा घर भई काठमाडौंमा अध्ययन गर्दै आएका युवाले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसहितका मन्त्री र सांसदलाई एसएमएस पठाउँदै कोरोनाको उपचारका लागि छुट्टै अस्पतालको व्यवस्था गर्न पनि माग गरेका छन्।
उनीहरूले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदलाई मोबाइल सन्देश पठाएका छन्।
‘हाम्रो सुदूरपश्चिममा कोरोना परीक्षण प्रयोगशाला र उपचारका लागि अस्पतालको व्यवस्थाका लागि पहल गर्नुपर्यो,’ उनीहरूले सन्देशमा भनेका छन्।
प्रदेशमा ल्याब नहुँदा कोरोना संक्रमित फेला परिहाले काठमाडौंमै पठाउनुपर्ने बाध्यता रहेको सुदूरपश्चिम युवा समाजका एलएस धामीले गुनासो गरे।
अहिले सुदूरपश्चिमबाट कोरोनाका आशंकितको स्वाब संकलन गरेर काठमाडौं पठाउने गरिएको छ।
शनिबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले धनगढीको सेती प्रादेशिक अस्पतालसहित जिल्ला अस्पताल डोटी र बैतडीमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ।
निर्णय कार्यान्वयनका लागि दबाब पुगोस् भनेर युवाले मोबाइल सन्देश पनि पठाउन थालेका छन्।