समाजवादी पार्टीका सांसद प्रदीप यादवले किसानलाई खेतबारीमा जान दिनुपर्ने माग राखेका छन्।
पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यादवले खेतमा गहुँ, तेलहन तथा दलहन बाली पाकेर झर्ने बेला भइसकेको भन्दै किसानलाई निर्वाध खेतमा काम गर्ने वातावरण मिलाउनुपर्ने बताएका हुन्।
‘अहिले खेतमा गहुँ, दलहन र तेलहन बाली पाकेर किसानले घरमा भित्र्याउने बेला भएको छ,’ सांसद यादवले सोमबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘आज हामी महामारीको मुखमा छौं भने भोलिका लागि पनि खाद्यान्न चाहिन्छ भन्ने हेक्का हामीले राख्नुपर्छ।’
बाली कटाइ, थ्रेसर चलाउन र बाली भित्र्याउन कुनै पनि अवरोध गर्न नहुने उनले बताएका हुन्।
खेत जोत्ने प्रयोजनका लागि किसानले ट्याक्टर लैजान पाउने, डिजेलको आपूर्ति सहज गरिदिनुपर्ने र कृषि गतिविधिका लागि कुनै पनि हस्तक्षेप नगर्न उनले माग गरेका हुन्। उनले किसानलाई पनि शारीरिक दुरी कायम गरी झुण्ड नबनाइ काम गर्न सुझाव दिएका छन्।
खेती किसानीमा वाधा अवरोध सिर्जना भएको किसानको गुनासो आएपछि आफूले विज्ञप्ति नै निकालेर आग्रह गरेको उनले उल्लेख गरेका छन्।