नेपाल तरूण दलले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई नेपाल भित्र्याउन जिल्लास्थित तरूण दलका कार्यकर्तालाई निर्देशन दिएको छ।
स्थानीय प्रशासनसँग अनुमति लिएर तरूणका जिल्ला अध्यक्षले सीमामा अलपत्र नेपालीलाई नेपाल भित्र्याएर क्वारेन्टाइनमा राख्ने सहयोग गर्न तरूण दलका अध्यक्ष जितजंग बस्नेतले परिपत्र गरेका हुन्।
‘नेपाल आउनका लागि हिँडेका नेपाली समुदायका मानिस लकडाउनका कारण देशभरिका विभिन्न सीमा नाकामा अलपत्र परेका हुनाले ती व्यक्तिहरु तोकिएको समय क्वारेन्टाइनमा बस्ने गरी नेपाल भित्रिने सहज वातावरण मिलाउन नेपाल तरुण दलका सम्बन्धित जिल्लाका अध्यक्षले स्थानीय प्रशासनसँग समन्वय गर्ने,’ अध्यक्ष बस्नेतले मंगलबार पठाएको परिपत्रमा भनिएको छ।
दार्चुला, रूपन्देहीलगायत ठाउँका सीमामा भारतबाट आएका नेपालीहरू नेपाल प्रवेश गर्न पाएका छैनन्।
साथै भारतलगायत विदेशबाट आएका व्यक्ति क्वारेन्टाइनसम्म पुग्न नसकेका र नपुगेका भए प्रशासनसँग सहयोग लिई पुग्ने वातावरणको सिर्जना गरी सहयोग गर्न पनि आग्रह गरिएको छ।
सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना गर्न र गराउन आवश्यक भूमिका खेल्न पनि तरूण दललाई बस्नेतले आग्रह गरेका छन्।
‘देशभित्र बसोबास गर्ने व्यक्तिलाई कुनै समस्या परेको भए सो समस्या समाधान गर्न सहयोग गर्ने,’ बस्नेतले भनेका छन्, ‘बीचबाटोमा अलपत्र परेका व्यक्तिहरुलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्ने।’
ज्यालामजदुरी गरेर साँझ बिहानको छाक टार्ने वर्गलाई समस्या पर्ने भएका कारण ती वर्गको दैनिक जीवन निर्वाहको लागि आवश्यक सहयोग गर्न पनि तरूण दललाई आग्रह गरिएको छ।