स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै स्वास्थ्य तथा जनासंख्या मन्त्री भानमुक्त ढकालविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
वाग्मती प्रदेशसभामा विवेकशील नेपाली दलका सांसद रमेश पौडेलले मन्त्री ढकालविरूद्ध अनलाइन उजुरी दिएका हुन्।
'चीनबाट स्वास्थ्य सामाग्री ल्याउँदा धेरै प्रश्न उठेको छ। पहिला आह्वान गरेको टेण्डर रद्ध गरिएको रहेछ। धेरै कुरा लुकाइएको छ। गल्ती थिएन भने किन लुकाइयो,' पौडेलले सेतोपाटीसँग भने,'बजार भाउभन्दा ४ गुणा महंगो लिने अनि खरिदको अनुभव नभएको र आफूनिकटको व्यापारीलाई समेत दिइएको भनेर आएको छ। र्यापिड टेस्टिङ किटसमेत गुणस्तरीय नभएकाले मैले छानबिनको माग गरेको हो।'
चीनबाट खरिद गरी ल्याइएका ७५ हजार थान र्यापिड टेस्टिङ किट प्रयोग नगर्ने सरकार आफैंले भनेको छ।
विश्व स्वास्थ्य संगठनले हालसम्म यो किटलाई मान्यता नदिएकाले यसको उपयोग नहुने भएको हो।
अख्तियारका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले लक डाउनका बेला पनि केही कर्मचारीहरू आएर उजुरीमाथि छानबिन भइरहेको बताए।
‘अनलाइनमा उजुरी हालेपछि अटोमेटिक रूपमा उजुरी प्राप्त भयो भनेर सन्देश जान्छ,’ कोइरालाले भने,‘त्यो उजुरी पनि आएको छ। अरूमा जसरी छानबिन हुन्थ्यो उहाँको उजुरीमा पनि त्यसरी नै छानबिनअघि बढ्छ।’