नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सचिवालय बैठक बोलाउन माग गरेका छन्।
प्रवक्ता श्रेष्ठले पार्टीको बैठक बोलाउन जरूरी रहेको भन्दै दुई अध्यक्षसँग कुराकानी समेत गरेका छन्।
'मैले दुई अध्यक्षसँग बैठक बस्नपर्यो भनेर भनिसकेको छु। उहाँहरूले हामी छलफल गरेर खबर गर्छौं भन्नुभएको छ,' प्रवक्ता श्रेष्ठले सेतापाटीसँग भने,'आज बस्ने अपेक्षा गरेको थिएँ तर अहिलेसम्म खबर आएको छैन।'
उनले सामाजिक सञ्जाल ट्वीटरबाट समेत आफूले बैठक बोलाउन माग गरेको बताएका छन्।
आवश्यकता पर्दा मन्त्रिपरिषद र उच्चस्तरीय समन्वय समितिको बैठक बसेकाले स्वास्थ्य प्रोटोकलको पालना गरेर सचिवालयको बैठक बस्न सक्ने भन्दै श्रेष्ठले छिट्टै बैठक बस्ने समेत आशा व्यक्त गरेका छन्।
'देशभरिबाट साथीहरूले कोरोना भाइरसको रोकथामका लागि पार्टीले गर्न सक्ने विषयहरु के हुन सक्छ भनेर समेत भनेका छन्,' श्रेष्ठले भने,'कोरोनाकै सन्दर्भमा उठेका विषयहरु समेत पार्टीभित्र छलफल गर्न पर्ने भएको छ। यही भएर मैले बैठक बोलाउन माग गरेको हो।'
अहिलेको अवस्थाबारे पार्टीले आफ्ना धारणा बनाउन समेत जरूरी रहेको भन्दै श्रेष्ठले देशभरिका साथीहरूको भावनालाई समेत सम्मान गर्नुपर्ने बताए।
यसअघि नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि सचिवालय बैठक बोलाउन जरूरी रहेको बताएका थिए। कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सामाग्री ल्याउने क्रममा भएको अनियमिततबारे पार्टीमा छलफल हुनुपर्ने धारणासमेत खनालले राखेका थिए।