भारतमा अहिले संसारकै ठूलो लक डाउन जारी छ। मार्च २५ देखि लागु भएको लक डाउन २१ दिनसम्म जारी रहनेछ। यहीबीचमा कोरोना भाइरसको संक्रमण पनि भारतमा दिनदिनै बढिरहेको छ। बुधबारसम्म त्यहाँ पाँच हजार मानिसमा संक्रमण देखिएको छ भने १ सय ५० जनाभन्दा बढी मानिसको ज्यान गएको छ।
लक डाउन जारी रहेकै बेला गत आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको अन्धकारविरूद्ध लड्न राति ९ बजेपछि ९ मिनेटसम्म दीयो र मैनबत्ती बाल्न भनेका थिए। उनको त्यो कुरालाई कतिपयले नचाहिने काम भनेर आलोचना गरेका थिए।
पछिल्लो समय सामाजिक सञ्जालमा आउने आइतबार राति ८ बजेपछि मोदीको सम्मानमा पाँच मिनेट उभिएर सम्मान गरौं भनेर प्रचार गरिएको देखिन्छ। यो प्रचारका पछि कुनै संगठन छ कि छैन भन्ने खुलेको छैन।
मोदी स्वंयले यसलाई शंकाको दृष्टिले हेरेका छन्।
बुधबार दिउँसो ट्वीट गर्दे उनले उभिएर आफूलाई सम्मान गर्न लागेकोबारे आफूले सुनेको र यो विवादमा पार्ने खेल हुन सक्ने बताएका छन्।
यदि कसैले साँच्चै सम्मान गर्न लागेको हो भने पनि आफूलाई त्यस्तो सम्मान नचाहिने उनले बताएका छन्।
साँच्चै सम्मान गर्न मन भए कोरोना संकट जारी रहुन्जेल कुनै गरिब परिवारको जिम्मा लिन उनले आग्रह गरेका छन्।