नेपाली कांग्रेसका दुई भातृ संस्थाले कोरोनाभाइरस नियन्त्रणमा सरकार संवेदनशील नभएको आरोप लगाएका छन्।
नेपाल तरूण दल र नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षहरूले संयुक्त विज्ञप्ति निकालेर जतिसक्दो छिटो शंकास्पद व्यक्तिहरूको परीक्षण गर्नुपर्नेमा ढिलाइ भएकोले सरकार संवेदनशील नभएको उल्लेख गरेका हुन्।
बुधबार विज्ञप्ति निकालेर उनीहरूले स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्रीहरू व्यवस्था गर्न पनि सरकारले नसकेको बताएका हुन्।
‘स्वास्थ्य सामग्री खरिदमा मन्त्रीको निहित स्वार्थ र कमिसनको खेलमा लागेको कुरा बाहिर आएको छ,’ उनीहरूले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो सम्बोधन र सरकारको मनोमानी रवैया हेर्दा अनियमिततालाई गम्भीरताका साथ लिएको देखिएन।’
अस्पतालहरूमा भेन्टिलेटर संख्या बढाएर कम्तिमा एक हजार पाँच सय बनाउनुपर्ने बताएका छन्।
तरूण दलका पूर्वअध्यक्षहरू विनोदप्रकाश कायस्थ, उदयशम्शेर राणा तथा नेविसंघ पूर्वअध्यक्षहरू नैनसिंह महर, महेन्द्र शर्मा र रञ्जित कर्णले कोरोना नियन्त्रणमा सरकार संवेदनशील नभएको उल्लेख गर्दै विज्ञप्ति निकालेका हुन्।
हेर्नुस् विज्ञप्ति: