लकडाउनमा घरमै बसेका निजामती कर्मचारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न काम गर्न निर्देशन दिएको छ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सक्रियता बढाउन मन्त्रालयले कर्मचारीलाई घरबाटै गर्न सकिने काम गर्न बुधबार निर्देशन दिएको हो।
अधिकांश कर्मचारी घरमै रहेकोले मन्त्रीस्तरको निर्णय गर्दै मन्त्रालयले सम्भव भएसम्मका काम गर्न निर्देशन दिएको हो।
आफूभन्दा एक तह माथिको कर्मचारीसँग नियमित सम्पर्कमा रहने र कार्यालय प्रमुखसँग समन्वय गरी टेलिफोन, इन्टरनेटबाट गर्न सकिने काम कर्मचारीले गर्नुपर्छ।
कर्मचारीहरूले आफू बसोबास गरेको क्षेत्रमा कोरोना प्रभावित ठाउँबाट कोही व्यक्ति आएको पाइएमा क्वारेन्टाइनमा राख्न सहयोग गर्नुपर्ने मन्त्रालयको भनाइ छ।
‘कुनै व्यक्ति क्वारेन्टिनमा बसेको छैन भने वडा कार्यालय, प्रशासन र प्रहरीकोमा जानकारी गराउनुपर्छ,’ मन्त्रालयले कर्मचारीलाई भनेको छ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए स्वास्थ्य संस्थामा जान आग्रह गर्ने, आवश्यक परे वडा, गाउँपालिका वा नगरपालिकामा खबर गर्ने जिम्मेवारी पनि कर्मचारीले पाएका छन्।
लगत संकलन, राहत वितरणलगायत सरकारले गरेका काममा सघाउनुपर्नेछ। दैनिक उपभोग्य वस्तुको मूल्य अस्वभाविक बढेको पाइए सम्बन्धित निकायमा खबर गर्ने काम पनि कर्मचारीलाई मन्त्रालयले दिएको हो।
लकडाउनका बेला अनावश्यक घरबाहिर जान नदिने, सामाजिक दूरी कायम गर्ने र घरबाहिर जानुपरे मास्क लगाउन कर्मचारीले आग्रह गर्नुपर्नेछ।
मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले सम्भव भएसम्मका काम गर्न कर्मचारीलाई आग्रह गरिएको बताए।