साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले कोरोना भाइरसविरूद्धको लडाइँमा एकतावद्ध हुन उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र बनाउनु पर्ने प्रस्ताव गरेका छन्।
बिहीबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग टेलिफोन गरेर उक्त प्रस्ताव राखेको मिश्रले जानकारी दिएका छन्।
प्रचण्डसँगको कुराकानीमा आफूले नेकपाभित्र अहिले देखिएको अन्तरकलहले नागरिकलाई निराश बनाउने कुरा पनि सम्झाएको मिश्रले उल्लेख गरेका छन्।
‘बल्लबल्ल बसेको यहाँहरूको सचिवालय बैठकमा बर्तमान अवस्थामा समेत पार्टीभित्रको आन्तरिक कलहमा धेरै समय व्यतित भएको खबरहरू बाहिर आए। आम सर्वसाधारणलाई त्यसले निराश बनाउँछ। अहिलेको अवस्था भनेको एकवद्ध भएर कोरोनाको कहरसँग लड्ने समय हो,’ मिश्रले प्रचण्डलाई भनेको कुरा उल्लेख गर्दै फेसबुकमा लेखेका छन्,‘विश्व स्वास्थ्य संगठनका प्रमूखले पनि हरेक देशमा राजनीतिक दलहरूलाई पार्टीगत स्वार्थबाट माथि उठेर ‘राष्ट्रिय एकता’ का लागि आह्वान गरेका छन्। साझा पार्टीको तर्फबाट हामीले झण्डै दुई हप्ताअघि नै प्रधानमन्त्रीको नाममा लेखिएको सुझावपत्रमा यो संकटसँग जुध्न राष्ट्रिय एकता आवश्यक भएकोले ‘उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र’को प्रस्ताव गरेका थियौँ। त्यस्तो संयन्त्रको झन, झन बढी खाँचो देखिँदै गएको छ।’
जवाफ प्रचण्डले ‘अहिले पशुपतिनाथले रक्षा गर्छन् भनेर बस्ने स्थिति छैन। उच्चस्तरीय राजनीतिक संयन्त्रको विचार मलाई राम्रो लाग्यो। वास्तवमा त्यो आवश्यक छ। म यो सुझावलाई निश्कर्षमा पुर्याउन प्रयास गर्छु’ भनेको मिश्रले उल्लेख गरेका छन्।
यसअघि मिश्रले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि फोन गरेर उक्त प्रस्ताव राखेका थिए।