प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना संघीय सांसदको पारिश्रमिक काटेर कोरोना नियन्त्रण तथा रोकथाम कोषमा पठाउन संघीय संसद सचिवालयलाई पत्राचार गरेको छ।
कांग्रेस संसदीय दलले आफ्ना सांसदको १५ दिनको पारिश्रमिक कोरोना कोषका लागि दिने यसअघि नै निर्णय गरेको थियो।
‘१५ दिनको पारिश्रमिक कट्टा गरी उक्त रकम कोरोना नियन्त्रण कोषमा पठाउन संघीय संसद सचिवालयलाई पत्राचार गरिएको छ,’ कांग्रेस संसदीय दलको कार्यालयका अधिकृत विजयन्द्र वीर आलेले विज्ञप्ति निकालेर भनेका छन्।
संसद सचिवालयले १५ दिनको पारिश्रमिक कट्टा गरी कोषमा रकम पठाउने प्रक्रिया सुरू गरेको जानकारी दिएको पनि आलेले उल्लेख गरेका छन्।
कांग्रेसका सांसद तथा केन्द्रीय सदस्यहरूले सांसद कोषको रकम पनि कोरोना कोषमा राख्नुपर्ने माग बिहीबार विज्ञप्ति निकालेर राखेका थिए। कांग्रेसले कोरोना कोषमा ५० लाख रूपैंया पनि उपलब्ध गराइसकेको छ।