सर्वोच्च अदालतले कुनै अपराधको आरोप लागेर हिरासतमा रहेकाको म्याद थप्ने, अभियोगपत्र दर्ता गर्ने, बयान गराउने वा थुनछेक आदेश गर्ने काम अघि बढाउने भएको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै म्यादथप देखि थुनछेक आदेशसम्मका कामकारबाही सहित अरू अत्यावश्यक सेवा दिने भए पनि लकडाउन अवधिभर पेशी तारेखलगायतका कामकारबाही बन्द हुने सर्वोच्च अदालतले जनाएको हो।
'अनुसन्धान तहकिकातको क्रममा हिरासतमा रहेका व्यक्तिहरूको सुरक्षित जीवनको हक तथा वैयक्तिक स्वतन्त्रताप्रति विशेषरूपमा संवेदनशीलता अपनाउन आवश्यक देखिएको हुँदा अभियुक्तलाई आवश्यक अनुसन्धानको लागि हिरासतमा राख्न अनुमति दिने, अभियोगपत्र दर्ता गर्ने,पक्राउपरी आएका अभियुक्तको बयान लिने,थुनछेक आदेश गर्नेसम्बन्धी कार्य आजैदेखि नियमित गर्ने/गराउने,' सर्वोच्च अदालतले जारी गरेको सूचनमा उल्लेख छ।
सर्वोच्चले दर्ता भइसकेका पुनरावलोकनका मुद्दाको सुनुवाइ समेत सुरू गर्ने बताएको छ।
लकडाउन अन्त्य भएको ३ दिनपछि नियमित सुनुवाइ सुचारू गर्न पनि सर्वोच्चले सबै अदालतलाई भनेको छ।
सरकारले लकडाउन सुरू गर्नुअघि चैत ७ गतेदेखि नै सर्वोच्च अदालतले अत्यावश्यक बाहेकका कामकारबाही बन्द गरेको थियो।
कोरोनासँग सम्बन्धित निवेदन, बन्दीप्रत्येक्षीकरण र कोरोना समयमा बालबालिका र वृद्धवृद्धा छुटाउने निवेदनको सुनुवाइमात्र सर्वोच्च लगायतका अदालतहरूले गर्दै आएका थिए।