नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वकै सरकारलाई हरसम्भव सघाएर जाने बताएको छ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय संयन्त्र बनाउने चर्चा चलेका बेला कांग्रेसले प्रतिपक्षी दलका हिसाबले यही सरकारलाई सम्भव भएसम्म सघाउने प्रष्ट पारेको हो।
इमेज टेलिभिजनलाई बिहीबार दिएको अन्तर्वार्तामा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीकै नेतृत्वमा प्रतिपक्षी दलसहितको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्ने बताएका थिए।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र सरकार चलाएको पार्टी नेकपाबाट संयन्त्र बनाउने विषयमा कुनै पनि प्रस्ताव नआएको बताए।
‘सरकार र नेकपाले हामीलाई यसबारे कुनै प्रस्ताव नै गरेको छैन। प्रस्ताव नै नआइकन टिप्पणी गर्नू उचित हुन्न,’ प्रवक्ता शर्माले सेतोपाटीसँग भने, ‘यही सरकारलाई हरसम्भव प्रतिपक्षीका रूपमा हामीले सहयोग गरेर जाने हो। काम जननिर्वाचित सरकारले नै गर्ने हो।’
सरकार र प्रतिपक्षी दल रहेको अवस्थामा उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक नहुने पनि कांग्रेसको भनाइ छ।
‘सरकारका राम्रा कामको प्रशंसा गर्ने, सरकारलाई राम्रा काम गर्न सुझाव दिने काम प्रतिपक्षीले गरिरहेकै छ,’ शर्माले भने, ‘भ्रष्टाचार, अनियमितता र विकृतिबारे हामीले आवाज उठाउने र हरसम्भव यही सरकारलाई सहयोग गर्ने हो।’
प्रचण्डले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने कुरा नेकपाभित्र नै छलफल नभएको बेला प्रमुख प्रतिपक्षी दलले टिप्पणी गरिराख्नु उचित नहुने शर्माको भनाइ छ।