इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित भएकी छन्।
‘द एम्बेसडर क्लब अफ इजरायल’ ले इजरायलको ७२ औैं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा डाक्टर शाक्यलाई ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ सम्मान गर्ने घोषणा गरेको हो।
९० वटा देशका दुतावासहरु रहेको इजरायलमा सो सम्मानबाट राजदूत शाक्य सम्मानित भएकी हुन्।
९० वटै देशका राजदूतले उनको पक्षमा मत जाहेर गरेपछि शाक्य यो सम्मानबाट सम्मानित भएकी हुन्। उनी यो सम्मानबाट सम्मानिन हुने एसियाली मुलुककै पहिलो राजदूत हुन्।
९० वटा देश मध्येबाट अहिलेसम्म यूरोप र अमेरिकी मुलुकका राजदूतले मात्र उक्त सम्मान पाउँदै आएका थिए। उक्त सम्मानको घोषणापछि राजदूत शाक्यले खुशी व्यक्त गरेको छन्।
‘यो सम्मानलाई नेपाल र नेपालीप्रतिको सम्मानका रुपमा लिएको छु’ राजदूत शाक्यले भनिन्, ‘यो सम्मानले नेपाल र नेपालीको शीर उच्च बनाएको छ ।’
उक्त सम्मानबाट विभूषित घोषणा गर्ने कार्यक्रममा राजदूत शाक्य पनि सहभागी थिइन्। शाक्य २०७५ फागुन ३ गते राजदूत नियुक्त भएकी हुन्।
केही दिन अघि मात्रै चेम्वर अफ कमर्श र इजरायल चेम्बर अफ कमर्शबीच दुई देशबिच व्यापार व्यवसाय आदान–प्रदान गर्ने सम्बन्धी सम्झौता भएको थियो।
सो सम्झौतामा व्यापार, लगानी, उद्योग, कृषि, पर्यटन, प्रविधि, यातायात, पूर्वाधार विकास, उर्जा आदि क्षेत्रहरुमा व्यापार व्यवसाय गर्ने गरी सम्झौता भएको थियो।
गत मंसिरमा इजरायली सरकारको उच्चस्तरको आधिकारिक संस्था मसाभ प्रमुख गील हासकेलको टोली पाँच दिनका लागि नेपाल आएको थियो।
शाक्यको पहल र नेपाल सरकारको निमन्त्रणामा आएको हासकेलको टोलीले नेपाल बसाइका क्रममा प्रधानमन्त्रीसँगै परराष्ट्र, अर्थ, शिक्षा, कृषि, स्वास्थ्य र ऊर्जामन्त्रीसँग भेट गरेको थियो।