नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले गणतन्त्र र संघीयतामाथि कम्युनिष्टहरूबाटै खतरा रहेको उल्लेख गरेका छन्।
कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार गरेको अन्तर्क्रियामा उनले सरकारले लोकतान्त्रिक शासन व्यवस्थालाई कमजोर बनाएको पनि आरोप लगाए।
‘कम्युनिष्ट पार्टीका एकपछि अर्का गतिविधिले लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाएको छ,’ निधिले भने, ‘लोकतन्त्रवादी शक्ति एकवद्ध भएर लोकतान्त्रिक प्रणाली सुदृढ गर्नुपर्छ।’
उनले कम्युनिष्टको शब्दकोशमा बहुलवाद भन्ने शब्द नै नहुने भन्दै बहुलवादलाई पन्छाएर लोकतन्त्रको परिभाषा हुन नसक्ने बताए।
‘कम्युनिष्टहरू अन्तर्राष्ट्रिय अधिनायकवादमा विश्वास गर्छन्। उनीहरूले अधिनायकवादी बाटोमा नेपाललाई पनि हिँडाउन खोजेको देखिन्छ,’ निधिले थपे।