सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधान्मन्त्री माधवकुमार नेपालले यस वर्षको बजेटले अहिलेको आवश्यकतालाई बोध गरेको बताएका छन्।
उनले कोरोना फैलिएको बेलामा यो बजेटले रोग र भोकसँग कसरी सामना गर्ने कुरालाई सम्बोधन गरेको प्रतिक्रिया दिएका छन्।
'जनताको व्यवस्थापन गर्ने र रोजगारीको कुरा, कृषि क्षेत्रालाई प्रोत्साहन गर्ने कुरा, उद्योगधन्दा, सेवा क्षेत्रका व्यवसाय र ऋणमा परेकाहरूलाई के कति सहुलियत दिन सकिन्छ भन्ने कुरा र कुन क्षेत्रमा कति कर लगाउने भन्ने विषय यो बजेटले समेटेको छ,' उनले भने।
नेता नेपालले बजेटले सबै कुरालाई समेटेको भए पनि यसको स्रोत जुटाउन भने निकै चुनौतीपूर्ण रहेको बताएका छन्।
उनले भने, 'स्रोत जुटाउन चुनौतीपूर्ण छ। यसमा आर्थिक उत्पादन कुन ढंगबाट अघि बढ्छ र कोरोना कहिलेसम्म रहन्छ भन्ने कुरा जोडिएको छ।'