स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले 'हब' अस्पतालहरूलाई पूर्ण क्षमतामा सञ्चालित हुन निर्देशन दिएका छन्।
अस्पताल प्रमुखहरूलाई शुक्रबार मन्त्रालयमै डाकेर मन्त्री ढकालले पूर्ण क्षमतामा सेवा सञ्चालन गर्न निर्देशन दिएका हुन्। केही दिनदेखि उपचारबारे गुनासो सुनिएको भन्दै मन्त्री ढकालले आइन्दा कुनै गुनासो आउन नदिने गरी अस्पताल सञ्चालन गर्न निर्देशन दिए।
एकले अर्कोलाई गुनासो गरेर बस्ने समय नरहेको भन्दै मन्त्री ढकालले योजनाअनुसार अब्बल काम गरेर देखाउन अस्पताल प्रमुखहरूलाई भनेका छन्।
उनले सूचना प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता रहेको भन्दै स्याटेलाइट अस्पतालहरूले 'हब' र 'हब' अस्पतालले मन्त्रालयलाई रिपोर्टिङ गर्ने गरी काम गर्न निर्देशन दिए।
उनले नीति, निर्देशिका, कार्यविधिमा कुनै समस्या आए तुरून्त परिवर्तन गर्न सकिने भन्दै हरेक समस्याको विकल्पसहित समाधान खोजिनुपर्ने बताए।
कुनै पनि अस्पताललाई स्वास्थ्य सामग्री अभाव हुन नदिने भन्दै मन्त्री ढकालले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।
मानवस्रोत परिचालनसम्बन्धी प्रस्ट योजना बनाउन र बिरामी बढ्दै जाँदा शैया व्यवस्थापनबारे पूर्व तयारी गरेर कार्यान्वयनमा जानुपर्ने उनले बताए। बिरामी रिफरका लागि स्वास्थ्य आपतकालीन केन्द्रको नेतृत्वमा तत्काल संयन्त्र निर्माण गरी कार्यान्वयन गर्नुपर्ने उनले उल्लेख गरे।
उक्त अवसरमा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल सर्भिस अस्पताल र भक्तपुर अस्पतालका प्रतिनिधि लगायत अधिकारीहरू थिए।