सत्तारुढ नेकपाका सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट मार्फत् आगामी आवका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य चुनौतिपूर्ण रहेको बताएका छन्।
प्रतिनिधि सभामा बजेटमाथि छलफलका क्रममा पाण्डेले यस वर्षको आर्थिक वृद्धिदर शून्य हुन सक्ने बताए।
‘बजेटले ७ प्रतिशत लक्ष्य राख्नु ठिकै हो। हाम्रो राजनीतिक आकांक्षा पनि होला’ पाण्डेले भने, ‘वैशाखसम्मको तथ्याङ्कमा आधारित भएर सरकारले केही अघि २.३ प्रतिशत भनेको थियो। असारसम्मको लकडाउनले १ देखि २ हुन्छ कि भन्ने देखियो। अझै शून्य प्रतिशत हुँदै जान्छ कि भन्ने छ। त्यसैले ७ प्रतिशतको ग्रोथ चुनौतिपूर्ण छ।’
उनले सकरारले वैदेशिक ऋण लिएर खर्च गर्ने विगत देखि नै बताएपनि त्यस्तो हुन नसकेको उल्लेख गरे। अघिल्लो आर्थिक वर्षमा सरकारले वैदेशिक ऋण भित्र्याउँछु भनेपनि ४९ प्रतिशत मात्र लिन सकेको उदाहरण उनले प्रस्तुत गरे। त्यस्तै सरकारले पूँजीगत खर्च गर्न नसकेको बताए।
‘पूँजीगत खर्च अझै ओरालो लाग्ने ट्रेण्ड छ। २३ प्रतिशत मात्र खर्च भएको छ। साधन स्रोतको अभावले खुम्चयाउनु परेको छ’ उनले भने, ‘गत वर्ष ४ सय ८ अर्ब पूँजीगत खर्चका लागि छुट्याएकोमा १ खर्ब मात्र खर्च भयो। यसले हाम्रो कार्यन्वयन क्षमता कमजोर देखिएको छ।’
उनले सरकारले यसवर्ष रोजगारीमा छुट्याएको बजेटको अनुगमन आवश्यक रहेको बताए। सरकारले रोजगारीका लागि विभिन्न शिर्षकमा १८ अर्ब छुट्याएकाले अनुगमन संयन्त्र राम्रो बनाउनु पर्ने बताए। त्यस्तै कृषिमा सरकारले बजेट बढाए पनि पर्याप्त नभएको बताए।
‘कृषिमा पैसा बढेको छ। कोल्ड स्टोर निर्माण गर्ने भन्नु राम्रो हो। कृषकलाई बाली पूर्व बेस प्राइस दिन्छु भन्नाले कृषकको मनोबल सकरात्मक बन्छ’ पाण्डले भने, ‘किसानलाई क्रेडिट कार्डको कन्सेप्ट छ तर कसरी प्रयोग हुन्छ थाहा छैन।’
उनले गत वर्ष ४५ अर्बको कृषि उपज आयात भएको बताए। ‘माछामा १ अर्ब, तरकारी ९ अर्ब, फलफुल ९ अर्ब, पानको पात ११ करोड, धान आयात ६ अर्ब सहित ४५ अर्बको कृषि आयात छ’ पाण्डेले भने, ‘नयाँ ढंगले सोच्नुपर्ने अवस्था छ। धेरै मान्छेहरु विदेशबाट फर्कने अवस्था छ। उनीहरुले अब नेपालमै किन्ने अवस्था भएकाले उत्पादन बढाउन चुनौति छ।’
उनले सरकारले पर्यटन क्षेत्रलाई ५० अर्बको कोष बनाएर पैसा दिने भनेकाले त्यस्ता कोषमा तुरुन्त पैसा राख्न सरकारलाई आग्रह गरे। उनले राष्ट्र बैंकको कोषमा विगतमा पुनर्कर्जाका लागि पैसा राख्ने भनेपनि जम्मा नभएको बताए। पुनर्कर्जाका लागि राष्ट्र बैंकको कोषमा पैसा राख्न समेत उनले आग्रह गरे।