नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले कोरोनाको संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताएका छन्।
आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमान माथिको छलफलमा रिजालले मुलुकलाई संकटबाट जोगाएर आर्थिक विकास लागि प्राप्त अवसर गुमाएको बताए।
उनले भने, ‘‘यसपालि मुलुकलाई संकट छ, दुनियाँ सताब्दीको गहिरो संकट भोग्दै छ। यो संकटलाई अवसरमा बदल्ने कल्पनाशिलता बजेटमा अपेक्षा गरिएको थियो। बलशाली सरकारले त्यो कल्पनाशिलता देखाएन।’
बजेटमा काम गर्छु भनेर ८३ पेजको दस्तावेजमा उल्लेख भएका काम गर्नका लागि पैसा कहाँबाट आउँछ भनेर उनले प्रश्न समेत गरे। स्थानीय तहलाई शसर्त अनुदान बाहेक सबै घटेको उल्लेख गर्दै उनले संघीयता बलियो बनाउने अधिकार समेत सरकारले गुमाएको बताए।
रिजालले स्वास्थ्य क्षेत्रमा २२, २३ अर्ब बजेट मात्रै छुट्याएर नपुग्ने बताए। उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि छुट्याएको ६ अर्ब रुपैयाँले परीक्षण गर्न समेत नपुग्ने बताए। उनले भने, ‘६ अर्ब परीक्षणका लागि खर्च हुन्छ। ६ लाखको खर्च गर्न सक्ने क्षमता छ, क्षमता हुँदा अस्तिको जस्तै चलखेल हुन्छ भन्ने डर छ ।’
अझै पनि अर्थतन्त्रको उद्धारको काम कसरी गर्ने, राहतका काम कसरी गर्ने भन्ने समय बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘‘८३ पेजको दस्तावेजलाई विर्सेर अब अर्थतन्त्र उद्धारको काम कसरी गर्ने, राहतका काम कसरी गर्ने भन्ने कुरा सोचौँ । त्यसका लागि साझा कुरा के हुन्छ भन्नेतर्फ लागौँ । साझा अठोटबाट अर्थतन्त्र कसरी बनाउन सक्छौँ भन्ने सोच्नुभयो भने अहिलेको परिस्थितलाई पनि हामी अवसरको रुपमा बदल्न सक्छौँ ।’’