प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले बजेटको विषयमा सत्तारूढ दल नेकपाभित्रै समझदारी नभएको बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद सिंहले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा समेत रहेको प्रशारण लाइनको काम स्थगन गर्ने सत्तारूढ नेकपाको निर्णयमाथि प्रश्न उठाएका हुन्। सरकारले ल्याएको बजेटमा परेको ४ सय केभी अन्तरदेशिय प्रसारण लाइनको काम रोक्ने निर्णयले बजेटको विश्वसनियतामा प्रश्न उठाएको सिंहले बताए।
लप्सीफेदी-रातामाटे-हेटौंडा र लप्सीफेदी-रातामाटे-दमौली-बुटवल प्रशारण लाइन बनाउने विषय सरकारले बजेट र नीति तथा कार्यक्रममा समेटेको थियो।
यी एमसिसीभित्र परेका आयोजना हुन्। तर नेकपाको सचिवालय बैठकले एमसिसी संसदमा प्रस्तुत गर्ने र पारित नभएसम्मका लागि यसभित्रका कार्यक्रम रोक्ने निर्णय गरेको थियो।
'सत्ताधारी पार्टीले यसलाई अगाडि नबढाउने भनेको छ। बजेट वक्तव्य कति विश्वसनिय छ भने यसले देखाउँछ', सिंहले भने, 'उहाँहरु भित्रै आफैँ न्यनूतम समझदारी नभएर ल्याएको छ। कार्यान्वयनमा फितलो हुने प्रष्ट छ।'