लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) को परीक्षामा सहभागी हुने उम्मेद्वारलाई अनिवार्य रूपमा कोरोना परीक्षणको रिपोर्ट बुझाउन भनेको छ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले काठमाडौं बाहिर कार्यरत रहेका तथा लकडाउनका बेला काठमाडौं बाहिर गएर फर्केका उम्मेद्वारले कोरोनाको पिसिआर परीक्षण रिपोर्ट अनिवार्य बुझाउनुपर्ने सूचना मंगलबार निकालेका हुन्।
आयोगले सोमबार सहसचिव वा सो सरह (प्राविधिक/अप्राविधिक) का लागि परीक्षा/अन्तर्वार्तालाई नयाँ कार्यतालिका जारी गरेको थियो। आयोगले असार २ गते सहसचिवका लागि अन्तर्वार्ता लिँदैछ।
‘काठमाडौं उपत्यकाबाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउनमा उपत्यका बाहिर गई आएका उम्मेद्वारहरूले अन्तर्वार्ता अगावै आफ्नो पिसिआर परीक्षण गराई सो को सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउनु पर्नेछ,’ आयोगले निकालेको सूचनामा भनिएको छ।
कोरोना परीक्षणमा कुनै समस्या आइपरेमा आयोगका उपसचिव सन्तोष दाहाललाई ९८५१०९६११८ नम्बरमा सम्पर्क गर्न सकिने पनि सूचनामा उल्लेख छ। दाहालका अनुसार लिखित परीक्षामा ५४ जना उत्तिर्ण भएका थिए। तीमध्ये धेरैजसो काठमाडौंमै छन्।
‘उपत्यका बाहिर रहेका केहीले आफूले पिसिआर विधिबाटै परीक्षण गरिसकेको बताउनुभएको छ,’ उनले सेतोपाटीसँग भने, ‘सरकारले नि:शुल्क नै पिसिआर गरिदिन्छ। यसलाई हामीले जटिल हुन्छ भन्ने रूपमा लिएका छैनौं।’
आयोगले प्रशासन सेवातर्फ असार २ देखि १२ गतेसम्म अन्तर्वार्ता लिँदैछ। लेखा परीक्षण सेवातर्फको अन्तर्वार्ता असार १४ गते, प्रशासन सेवा (खुला/समावेशी) को १५ देखि १७ गतेसम्म र ईञ्जिनियरिङ सेवातर्फ असार २८ मा अन्तर्वार्ता हुँदैछ।
हेर्नुस् आयोगको सूचना: