प्रतिनिधि सभामा 'भारतीय चेली' शब्द प्रयोग गरिएको विषयमा विवाद भएको छ।
नेकपाकी सांसद गंगा चौधरीले गत जेठ १९ गते 'संसदमा समेत भारतीय चेलीको दादागिरी' चल्न थालेको टिप्पणी गरेकी थिइन्।
बैठकका बोल्दै उनले नयाँ नक्सा जारी गर्ने विषयमा अरु कसैलाई सोध्नु नपर्ने तर्क गरेकी थिइन्। मन र विचार अशुद्ध हुनेहरूलाई मन्तव्य, अन्तर्वार्ता लेखबाट पनि जनताले पहिचान गर्न थालेको बताएकी थिइन्। यद्यपी उनले कुनै सांसदको नाम भने लिएकी थिइनन्।
शुक्रबार प्रतिनिधि सभाको बैठमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले चौधरीलाई इंगित गर्दै 'भारतीय चेलीको दादागिरी' शब्द हटाउन माग गरिन्।
उनले पनि चौधरीको नाम लिइनन् तर उक्त अभिव्यक्तिलाई 'हेट स्पिच'को रूपमा उल्लेख गरिन्। उनले उक्त अभिव्यक्तिका आधारमा कानुनी प्रक्रिया अगाडि बढाउन माग गरिन्।
यद्यपी संसदमा अभिव्यक्त गरेको विषयमा कुनै कानुनी कारबाही नहुने व्यवस्था संविधानले गरेको छ।
गिरीले संसदको रेकर्डमा घृणा फैलाउने विषयहरू रहँदा त्यसबाट विभाजनको दरार सुरू हुने बताइन्।
उनले आफूले भारत र चीनसँग नेपालले संवाद गर्नुपर्ने अभिव्यक्ति दिए पनि मिडियामा 'भारतलाई नसोधिकन नक्सा बनाउने' भनेर आफ्नो धारणा तोडमोड भएको उल्लेख गरिन्।
सांसद गिरीले 'भारतीय चेली'को टिप्पणीसँगै जासुसीको आरोपले त्यस्ता अभिव्यक्तिमाथि पानी खन्याएको बताइन्।
भिडिओ -
प्रतिनिधि सभाको बैठकमा राजपाकी सांसद अमृता अग्रहरीले भने सांसद गंगा चौधरीले प्रयोग गरेको शब्दमा पार्टीको ध्यानाकर्षण भएको बताइन्। उनले सांसद गंगा चौधरीले माफी माग्नुपर्ने बताइन्।
सांसद अग्रहरीले चौधरीको नाम लिएलगत्तै नेकपाका सांसद खगराज अधिकारी र झपट रावलले उठेर विरोध गरेका थिए।
संसदमा सामान्यतया सम्बोधन गर्दा नाम नलिने प्रचलन छ। अग्रहरीले कसैको रगत उम्लिएको भए 'बागमती'मा गएर हामफाल्न समेत सुझाइन्।