दाङमा इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक मोहन बिक्रम केसीमाथि कुटपिट भएको छ।
बिहीबार राति साढे १० बजे बाबुछोरा मापसे गरी होहोल्ला गर्दै आएका बेला प्रहरी निरीक्षक केसीले सम्झाउन खोजेका थिए। त्यसपछि केसीमाथि ढुङ्गा हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।
उनका अनुसार इन्स्पेक्टर केसीको टाउकोमा चोट लागेको छ। उनको राप्ती प्रादेशिक अस्पतालमा तुलसीपुरमा उपचार भइरहेको छ।
प्रहरीले हातपात गरेको आरोपमा बबई गाउँपालिका–६ का ४५ वर्षीय चित्रबहादुर डाङ्गी र उनका छोरा २७ वर्षीय हेमलाल डाङ्गीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान थालेको छ।