प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सांसदको हैसियत वडाध्यक्षको जस्तै भएको बताएका छन्।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका नाममा सांसदले वडाध्यक्षको जस्तो पैसा लिने थालेको उनले बताए।
‘जबदेखि हामीले स्थानीय पूर्वाधार कोष (निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम) जे नाम दियौं यसबाट वडाध्यक्षजस्तो पैसा लिन थाल्यौं पहिलाको भन्दा स्थिति झन् बिग्रियो,’ शनिबार प्रतिनिधिसभा संसदमा सांसद थापाले भने, ‘हाम्रो हैसियत वडाध्यक्षको जस्तो भएको छ।’
उनले उक्त कार्यक्रम बजेटबाट हटाउन गुनासो र गनगन मात्र गरेन नहुने भन्दै हस्तक्षेप गर्नुपर्ने बताए।
‘यो कोषलाई योपटकको बजेटबाट हटाउनका निम्ति सरकारलाई भन्छौं भनेर सुरू गर्नुपर्छ,’ उनले भने।
हालै बसेको कांग्रेस केन्द्रीय समिति बैठकले उक्त कोषको रकम बजेटमा समावेश नगर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो।
सांसद थापाले बजेटमाथि छलफलका लागि दिइएको समय कम भएको पनि संकेत गरे।
‘आठ मन्त्रालय, चार मिनेट समय। हामीले बोले पनि के नबोले पनि के,’ उनले थपे, ‘मन्त्रीजीहरूले एउटा कानले सुन्नुहुन्छ, अर्को कानले उडाइदिनुहुन्छ। कमा पनि फेरिन्न, फुलस्टप पनि फेरिन्न। यस्तै यस्तै गुनासो हामीले आज विनियोजन विधेयकको छलफलमा गरिरहेका छौं।’
पञ्चायतदेखि गणतन्त्रसम्म बजेट बनाउने एउटै तरिका अपनाइएको उनको भनाइ छ।
‘बजेट निर्माणमा संसदको भूमिका के। विधायकको भूमिका के। हाम्रो विचारधारा र धोषणापत्रको अर्थ र सम्बन्ध के रहन्छ,’ उनले भने, ‘हामीले कहिल्यै छलफल गर्यौं? गरेनौं। कहिले चुरोटको खोलको चिर्कटमा योजना लेखेर मन्त्रीजीको ढोकामा पुग्यौं।’
पहिलेकोभन्दा स्थिति झन् बिग्रिएको उनको भनाइ छ। ‘रोगले मरेको, भोकले मरेको सरकारले देखेन। हामीले कुरा गरेको भुइँ मान्छेहरूका बारेमा हो,’ उनले भने, ‘अर्थमन्त्री अग्लो हुनुहुन्छ। अग्लो मान्छेलाई भुइँतिर हेर्न गाह्रो हुन्छ। त्यही भएर नदेखिएको उहाँको दु:ख हामीले बुझिदिनुपर्छ।’
स्वास्थ्य मन्त्रालयको बजेट बढेकोमा खुसी लागेको उनले बताए। ‘सरकारले कोरोना परीक्षण गर्न ५ परीक्षण मेशीन किनेको हो। अरू पहिलेकै हुन्,’ उनले भने, ‘अहिले किनेका मेशीन बिग्रेका छन्। २५ हजार पिसिआर किट मात्रै सरकारले किनेको हो। अरू उपहार र दान हो।’