सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको छ।
दुई नेताबीच आइतबार दिउँसो बालुवाटारमा एक्लाएक्लै भेट भएको स्रोतले सेतोपाटीलाई बतायो।
दुई अध्यक्षको भेटपछि अमेरिकी सहयोग परियोजना एमसिसीका विषयमा छलफल गर्न सचिवालय बैठक डाकिने भएको छ। नेकपा महासचिव विष्णु पौडेलले मंगलबार दिउँसो ४ बजे सचिवालय बैठक बस्ने जानकारी दिए।*
नेकपाका बरिष्ठ नेता झलनाथ खनालले उक्त बैठकले एमसिसीको कुरा टुंग्याउने बताए।
नेपालका विभिन्न आयोजनामा अमेरिकाले गर्न लागेको अनुदान सहयोग एमसिसीलाई लिएर नेकपाभित्रै तीव्र मतभेद छ। एमसिसीमा भएका परियोजनाको काम अघि बढाउने गरी सरकारले आगामी वर्षको बजेट ल्याएको छ। तर नेकपाका कतिपय नेताहरूले एमसिसी अमेरिकी सैन्य रणनीति भएकाले यसलाई अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन्।
यसअघि बसेको सचिवालय बैठकले संसदबाट एमसिसी पारित नहुँदासम्म यसअन्तर्गतका कार्यक्रम अगाडि नबढाउने निर्णय गरेको थियो।
गत माघमा नेकपाले सचिवालय सदस्य झलनाथ खनालको संयोजकत्वमा एमसिसी अध्ययन गर्न कार्यदल बनाएको थियो।
उक्त कार्यदलले सुझावसहितको प्रतिवेदन बुझाइसकेको छ। उक्त प्रतिवेदनमा यथास्थितिमा एमसिसी पारित गर्न नहुने उल्लेख छ।
यसअघि बसेको सचिवालय बैठकले कार्यदलले दिएका सुझावसहितको प्रतिवेदन अध्ययन गरी अध्यक्षद्वयले बैठक बोलाउने निर्णय गरेका थिए।
*सच्याइएको