प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सलह कीराबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ।
पार्टीका कृषि तथा पशुपंक्षी विकास मन्त्रालय हेर्ने समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले आइतबार विज्ञप्ति निकालेर सलह कीराबाट हुने सम्भावित क्षति मध्यनजर गर्दै रोकथामका लागि कदम चाल्न आग्रह गरेका हुन्।
‘उक्त कीरा रोकथाम तथा नष्ट गर्न सरकारबाट आवश्यक कदम चाल्नुका साथै क्षति न्युनिकरणका लागि गम्भीर हुन माग गर्दछौं,’ संयोजक चौधरीले निकालेको विज्ञप्तिमा भनिएको छ। सरकारले सलह कीरा नेपाल प्रवेशको सम्भावना कम रहेको भन्दै तयारी नगरेकोमा पनि कांग्रेसले आपत्ति जनाएको छ।
‘सरकारका सम्बन्धित निकायबाट यस विनाशकारी कीरा नेपालमा प्रवेश गर्ने कम सम्भावना रहेको भन्दै प्रभावकारी ढंगले पूर्वतयारी नगरेकोप्रति गम्भीर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ।
सरकारले उसादिन प्रवृत्ति देखाउँदा नेपालीलाई एकपछि अर्काे आघात पुगेको पनि कांग्रेसको भनाइ छ। ‘असामान्य रूपमा यसले बालीनालीलाई क्षति पुर्याउने हुँदा हामीले अर्को क्षति व्यहोर्नुपर्ने प्राय निश्चित छ,’ संयोजक चौधरीले भनेका छन्।
कोरोना महामारीमा जुधिरहेका बेला सलह अर्को चुनौतीका रूपमा देखा परेको कांग्रेसले बताएको छ। ‘कीराले अन्नबालीलाई क्षति पुर्याएर भविष्यमा भोकमरी निम्त्याउने उच्च खतरा छ,’ विज्ञप्तिमा भनिएको छ।
अफ्रिकी मुलुक अरविया हुँदै एसियाका पाकिस्तान, भारतलगायत देशमा देखिएको सलह शनिबारदेखि नेपाल प्रवेश गरेको हो। तराईका जिल्ला हुँदै सलह आइतबार पहाडी जिल्लातिर सरेकाे छ।