प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण गराएको छ।
कोरोनामा सरकारी कामकाजबारे पार्टीका तर्फबाट अनुगमन गर्ने जिम्मेवारी पाएका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गएको कांग्रेस प्रतिनिधि मण्डलको टोलीले मंगलबार बिहान मन्त्रालयमै मन्त्री ढकाललाई भेटेर पिसिआर विधिबाट कोरोना परीक्षणको दायरा वृद्धि गर्नु पर्नेलगायत विषयमा ध्यानाकर्षण गरेका हुन्।
आफूहरूले पिसिआर विधिबाट परीक्षणको दायरा बढाउन, क्वारेन्टिन व्यवस्थित बनाउन, क्वारेन्टिनमा रहेका व्यक्तिलाई गुणस्तरीय खानाको व्यवस्थापन मिलाउनु पर्नेलगायत विषयमा स्वास्थ्य मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराइएको टोलीमा सहभागी कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले सेतोपाटीलाई बताए।
‘हामीले मुख्य गरी चार वटा विषयलाई लिएर मन्त्रीजीसँग कुराकानी गर्यौं,’ भण्डारीले भने,‘प्रत्येक पालिकामा स्वास्थ्यकर्मीसहित सुविधासम्पन्न कम्तिमा एउटा एम्बुलेन्स व्यवस्था गर्नुपर्यो। स्वास्थ्यकर्मी र ल्याब टेक्निसियन पालिकाहरूमा पठाउनुपर्यो। क्वारेन्टिनमा स्वस्थ्यकर खाना दिनुपर्यो। नेतामा मात्र सबै कुरा निर्भर हुन भएन महामारीका बेला विज्ञहरूको साथ लिनुपर्यो भन्ने कुरा राख्यौं।’
साथै कांग्रेसले स्वास्थ्य सामग्री खरिदमा अनियमितताका कुरा आएकोले मन्त्रालयले सत्यतथ्य बताउनु पर्ने र छानबिन गरिनु पर्ने माग पनि राखेको छ। क्वारेन्टिन व्यवस्थापनलाई सरकारले स्थानीय तहलाई बजेट नदिएको पनि कांग्रेसको भनाइ छ।
स्वास्थ्यमन्त्री ढकाललाई ध्यानाकर्षण गर्न कांग्रेस केन्द्रीय सदस्यहरू एनपी साउद, मोहन बस्नेत, चन्द्र भण्डारी, गगन थापा र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी मन्त्रालय पुगेका थिए।