प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ।
मदन भण्डारीको जन्मजयन्तीमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नक्सा जारीपछि भारतको राज्य संयन्त्रले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्रीले उक्त अभिव्यक्ति आएको एक दिनपछि मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिमा यसबारे केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रममा आपत्ति जनाएका हुन्।
‘नक्साको विषय सिंगो देशको विषय हो। सबै मिलेर संसदबाट पारित गरिएको हो। प्रधानमन्त्रीले आफूले दिएको अटोग्राफजस्तो गरेर नक्सा पारित गरेपछि मलाई हटाउन कुनै अमुक देश लागे भनेर अभिव्यक्ति दिनुभएको छ त्यो गैरजिम्मेवार, अराजनीतिक, कुटनीतिक मूल्यभन्दा बाहिरको अभिव्यक्ति छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘आजको केन्द्रीय समिति बैठकमा यस विषयमा पनि छलफल भयो।’
नक्सा पारित गरेको विषय प्रधानमन्त्रीको मात्रै नभएर सिंगो देश एक ढिक्का भएर संसदले पारित गरेकोले नेपालीको साझा स्वामित्व रहेको शर्माले बताए।
‘नक्सा पारितपछि हामीले प्रधानमन्त्रीलाई दिल्लीसँग दिलको कुरा दृढताका साथ गर्नुस् भनेका थियौं,’ शर्माले भने, ‘नक्सा हातमा आएको छ। जग्गा पनि हातमा लिनेतर्फ लाग्नुस्। तर प्रधानमन्त्रीजी, नक्सा पारित भएकै हप्तामा यो विषयलाई विभाजन गर्नतर्फ लागियो। र एकाएक अर्को विषयतर्फ मुलुकलाई ध्यान मोडियो।’
प्रधानमन्त्रीको अभिव्यक्तिलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको उनले बताए।
‘प्रधानमन्त्रीले कुटनीतिक मूल्यलाई राखेर बोल्नुपर्छ। सरकार बनाउने वा हटाउने बहुमत नेकपासँग छ। प्रधानमन्त्रीले जे अभिव्यक्ति राख्नु भएको छ आफ्ना सहयोद्धातर्फ लक्षित होस्, या अरूतिर लक्षित होस्। यो गैरराजनीतिक छ। प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ।’
प्रधानमन्त्रीले संसद र आफ्नै पार्टीलाई पनि अपमानित गर्ने गरी अभिव्यक्ति राखेको कांग्रेसको भनाइ छ।