एकताको नयाँ आधार खोज्नुपर्ने प्रस्ताव लिएर नेकपा स्थायी समिति सदस्य एवम् कृषि मन्त्री घनश्याम भुषालले पार्टीका दुई अध्यक्षलाई भेटेका छन्।
मन्त्री भुषालले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटार र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई खुमलटार गएर भेटेका हुन्।
'प्रधानमन्त्रीलाई बालुवाटार गएर बिहान भएको ब्रिफिङ गरेँ। उहाँले तपाईंहरूको प्रयत्न राम्रो छ, यसका लागि शुभकामना भन्नुभयो,' भुषालले भने, 'प्रचण्डले पनि यो प्रस्ताव ठीक छ भन्नुभयो। तर नयाँ स्तरको एकताको व्याख्या गर्न भन्नुभएको छ।'
शुक्रबार भुषालको पुल्चोकस्थित निवासमा दोश्रो पुस्ताका ११ जना स्थायी समिति सदस्यहरू भेला भएका थिए।
छलफलमा प्रदेश ५ का मुख्यमन्त्री एवम् स्थायी समिति सदस्य शंकर पोखरेल, पर्यटन मन्त्री योगेश भट्टराई, वन मन्त्री शक्ति बस्नेत, ऊर्जा मन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए। स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा र मणि थापा पनि बैठकमा थिए।
'एकताको नयाँ आधार तयार गरौं भनेर छलफल गरेको भए पनि यसका लागि हामीले प्रस्ताव तयार पारेका छैनौं। यसको व्याख्या गर्न जरुरी छ,' उनले भने, 'अध्यक्ष प्रचण्डले पनि यसको व्याख्या गरेमा मूर्त र कंक्रिट हुने बताउनुभएको छ।'
दुई अध्यक्षसँग आधा-आधा घन्टा कुराकानी भएको मन्त्री भुषालले बताए।
त्यस्तै, 'जो जहाँ पुगेको छ, त्यहाँबाट अघि नबढौं' भनेर आफूहरूले आग्रह गरेको समेत उनले बताए।
आफूहरूको प्रस्तावबारे दुई अध्यक्षले निर्विचार भावले सुनेको समेत उनको भनाइ छ।
बिहान बसेको ११ जना स्थायी समिति सदस्यको बैठकले दुई अध्यक्षसँग छलफल गर्ने जिम्मेवारी मन्त्री भुषाललाई दिएको थियो।