सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको छलफल सकिएको छ।
आफ्ना पक्षमा दुई/दुई जना नेताहरू पनि सँगै राखेर प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आइतबार झन्डै डेढ घन्टा छलफल भएको छ।
‘उहाँहरू भोलि बिहान फेरि बस्ने गरी आजलाई उठ्नुभएको छ,’ स्रोतले सेतोपाटीसँग भन्यो।
आजको छलफलमा के-के कुराकानी भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ।
छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए।
यस्तै प्रचण्डसँगै ऊर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा छलफलमा सहभागी भएका थिए।
छलफलबाट ओली र प्रचण्ड उठे पनि दुबै पक्षका चार नेता भने बालुवाटारमै रहेको स्रोतको भनाइ छ।
नेकपाको स्थायी समिति बैठक सोमबार बिहान ११ बजे बस्ने भनिएको छ। उक्त बैठक हुनुअघि ओली-प्रचण्डबीच फेरि वार्ता हुनेछ।