नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा सत्तारूढ नेकपाभित्र भइरहेको विवाद र सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्रीले गरेको भेटवार्ताबारे प्रश्न उठेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो ३ बजेदेखि जारी केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री ओलीले भेटेर के कुरा गरेका हुन् पार्टीलाई खुलस्त पार्नुपर्ने आवाज उठेको हो।
१४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल गर्न राखिएको बैठकमा असार १७ गते प्रधानमन्त्री ओलीले सभापति देउवालाई भेटेको समाचार आएकाले जवाफ दिनुपर्ने आवाज उठेको एक केन्द्रीय सदस्यले सेतोपाटीलाई बताए।
‘अहिले बैठक जारी छ। प्रधानमन्त्रीले सभापतिजीलाई भेटेकोबारे प्रश्न उठेको छ,’ ती केन्द्रीय सदस्यले भने।
वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले सभापतिजीसँग निकटता बढाएको, भेटेको विषय उठाउँदै के भएको हो भन्नेबारे पार्टीमा जानकारी गराउनुपर्ने माग गरेका थिए। यसअघि वरिष्ठ नेता पौडेलले शनिबार बागमती प्रदेशका नेता/कार्यकर्तासँगको अन्तर्क्रियामा अर्काको घर भत्किएपछि आफ्नो घर बन्छ भन्ने सोच्नु दुर्भाग्यपूर्ण हुने बताएका थिए।
सभापति देउवाले यसबारे जवाफ दिइसकेका छैनन्। सभापति देउवालाई असार १७ गते प्रधानमन्त्रीले र आज बिहान नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भेटेका थिए।