पार्टीमा देखिएको विवादको निकास दिनेबारे नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि छलफल भइरहेको छ।
बालुवाटार स्रोतका अनुसार सोमबार बिहान ९ बजेपछि भएको छलफलमा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन्।
बालुवाटार जानुअघि प्रचण्डले खुमलटारमा बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए।
यी चार नेताबीच आइतबार पनि झन्डै तीन घन्टा बालुवाटारमा कुराकानी भएको थियो।
आइतबार साँझ प्रचण्डले नेताहरूलाई ओलीसँगको छलफल सकारात्मक नभएको ब्रिफिङ गरेका थिए।
खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग भएको छलफलमा प्रचण्डले यस्तो जानकारी गराएका हुन्।
‘छलफल सकारात्मक भइसकेको छैन। धेरै दिनपछि छलफल भयो भन्ने मात्रै हो’ प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो। ‘भोलि पनि बैठक गर्ने सहमति भएको छ।’
गत मंगलबार स्थायी समिति बैठक स्थगित भएदेखि दुई अध्यक्षबीच भेटघाट हुन सकेको थिएन। प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा स्थायी समिति बैठक स्थगित गरेको भन्दै प्रचण्डले मंगलबार बैठकको अध्यक्षता गरेका थिए। बैठकमा वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहित २९ जना सदस्यहरु सहभागी थिए।
प्रधानमन्त्री ओली निकटका सदस्यहरु भने सहभागी थिएनन्। त्यस्तै पूर्व माओवादी पक्षधर ४ जना सदस्यहरु सहभागी थिएनन्।