नेकपा केन्द्रीय सदस्य एवम् सांसद विशाल भट्टराईले पार्टीको ध्यान केन्द्रीय कमिटी बैठकभन्दा पनि महाधिवशेनका लागि हुनुपर्ने बताएका छन्।
सेतोपाटीसँग कुराकानी गर्दै भट्टराईले पार्टीको अर्जुन दृष्टि महाधिवशेनका लागि हुनुपर्ने बताए।
‘केन्द्रीय कमिटी बैठकले पार्टी विभाजनका लागि रोक्ने होइन। बरु मलजल गर्न सक्छ। किनकि ठूलो फोरममा हामी जान्छौँ भने झन् धेरै विवाद हुन्छ। त्यहाँबाट एकमत बनाउन सकिँदैन’ उनले भने, ‘अहिले आएको समस्या तलबाट नभई माथिबाट हो। त्यसैले विधानतः बैठक जरुरी भए पनि व्यवहारिक रुपमा ठिक छैन।’
पार्टीको विधान अनुसार एक चौथाई सदस्यले माग गरेपछि १ महिनाभित्र बैठक बस्नपर्ने भएकाले उच्च नेतृत्वले छलफल गरेर अवधि पुगेपछि बस्ने समेत उनको भनाइ छ। नेकपाका १ सय ५२ जना केन्द्रीय सदस्यले बैठकको माग गरी पार्टीलाई पत्र पठाएका छन्।
नेकपाभित्र जारी विवाद र केन्द्रीय कमिटी बैठकका विषयमा केन्द्रित रहेर हामीले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली निकटका केन्द्रीय सदस्य विशाल भट्टराईसँग भिडिओ कुराकानी गरेका छौँ। यस कुराकानीका मुख्य बुँदाहरु:
अहिले नै ठूलो फोरममा जानु उपयुक्त हुँदैन। कोरोना महामारी छ भनेर २०७७ चैतमा महाधिवेशन हुने भनिएको छ। त्यसैले ठूलो फोरमममा गएर अहिलेको समस्या समाधान हुन्छ भन्ने मलाई लाग्दैन।
विना कारण कसैलाई प्रधानमन्त्री चाहियो भन्नु अनुचित माग हो।
अबको मुख्य ध्यान एकता प्रक्रिया पुरा गर्ने र सदस्यको एकता गर्नेमा हुनुपर्छ। महाधिवेशन पार्टीको सबैभन्दा उच्च तह हो। त्यसका लागि घनिभुत भएर लाग्नुपर्छ।
बैठक माग गर्नु विधानत ठिक हो तर व्यवहारिक रुपमा ठिक छैन।
बैठक बसेपनि उच्च तहका नेतालाई मिलाउनुस् भनेर सकिने हो। ठूलो फोरम भएपछि एउटै मत बनाउन सकिन्छ भन्ने लाग्दैन। बैठक बसौंला तर अहिलेको दायित्व महाधिवेशन हो।
प्रधानमन्त्रीले बैठकको सामना गर्नुहुन्छ। केपी ओली कुनै समस्यासँग भाग्छ भनेर भन्यो भने कसैले पत्याउँदैन। उहाँ अफ्ठ्यारोमा जाने व्यक्ति हो। उहाँ तालिका पछाडि लाग्ने व्यक्ति होइन।
जसले अनुचित माग गरेको छ। उहाँहरुको कारण बैठक बस्न नसकेको हो। पार्टी अध्यक्षले भनेर महासचिवले बैठक स्थगित भनेपछि कसरी बस्न सक्छ?, बैठक बोलाउने ओलीले हो अरु कसले कता भेला गर्छ त्यो ठूलो कुरा भएन।
अब दुई अध्यक्षका बीचमा सहमति हुन्छ। त्यसपछि बैठक सुरु हुन्छ सहमतिबिनाको बैठक बसेर हुँदैन।