गत मार्चमा स्पेन कोरोनाभाइरसको महामारी र लकडाउनले अस्तव्यस्त थियो। त्यहीबेला त्यहाँको राजपरिवार अनौठो घोषणा गर्यो।
सन् २०१४ मा गद्दी त्यागेका पूर्वराजा हुवान कार्लोसले पाउँदै आएको २ लाख २५ हजार डलर वार्षिक तलब खोसियो। राजा फेलिप पाँचौंले आफ्ना बुवासँगको अरू सम्बन्ध पनि तोडेको घोषणा गरे।
पूर्वराजा कार्लोसको सम्पत्तिबारे स्वीट्जरल्यान्ड र स्पेनका अधिकारीहरूले अनुसन्धान गर्न सुरू गरेपछि राजा फेलिपले त्यस्तो निर्णय गरेका थिए।
फेलिपको स्वीस बैंकको खातामा साउदी अरेबियाबाट १० करोड अमेरिकी डलर जम्मा भएको देखिएको थियो। त्योमध्ये ७ करोड ६६ हजार डलर कार्लोसकी पूर्वप्रेमिका कोरिना लार्सेनलाई पठाइएको थियो। डेनिस नागरिक कोरिनाले उक्त पैसा लुकाउनका लागि नभई आफूलाई फकाउन कार्लोसले पठाएको दाबी गरेकी छन्।
स्पेनमा सञ्चारमाध्यमले पूर्वराजासँग जोडिएका स्क्यान्डलबारे लगातार सामग्री छापेका थिए। अहिले कार्लोसको मुद्दा सर्वोच्च अदालतमा पुगेको छ।
चौतर्फी आलोचना भएपछि ८२ वर्षीय पूर्वराजा कार्लोसले देश छोड्ने निर्णय गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कार्लोसले आफ्ना छोरालाई पत्र लेख्दै आफूले देश छोड्न गरेको निर्णय जानकारी गराएका छन्।
‘म तिमीलाई मैले सोचविचार गरी स्पेनबाहिर जान गरेको निर्णय जानकारी गराउँदैछु,’ उनले पत्रमा लेखेका छन्।
उनी कहाँ जान लागेका हुन् भन्ने राजपरिवारले खुलाएको छैन तर स्पेनी सञ्चारमाध्यमहरूले स्रोतलाई उद्धृत गर्दै उनी डोमिनिकन रिपब्लिक गएको जनाएका छन्।
कार्लोसको यो निर्णयपछि ७५ वर्षीया पूर्वरानी सोनियाको अवस्था के हुने भन्ने एकिन भइसकेको छैन।
कार्लोस सन् १९७५ मा स्पेनका राजा बनेका थिए। उनलाई सन् १९८१ मा हुन लागेको कूबाट जोगाएर स्पेनको प्रजातन्त्रलाई अघि बढाएको श्रेय जान्छ।
सन् २०१२ मा बोत्सावानामा हात्ती शिकार खेल्न गएका बेला लडेर उनलाई चोट लागेको थियो। सोही घटनापछि उनी र कोरिनाको सम्बन्ध सार्वजनिक भएको थियो।
शारिरिक रूपले कमजोर भएपछि सन् २०१४ मा उनले राजगद्दी त्यागेका थिए।
त्यसपछि राजा बनेका उनका छोराले स्पनी राजतन्त्रलाई नयाँ युगअनुसार पुनर्संरचना गर्ने बताएका थिए।
पछिल्लो छ वर्षमा उनले आफ्नो त्यो वाचा पूरा गर्न विभिन्न काम गर्दै आएका छन्। यद्यपी स्पेनमा राजतन्त्रप्रतिको विश्वास विस्तारै घट्दै गएको छ।