पार्टीमा देखिएको विवादको निकास दिनेबारे नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि छलफल भइरहेको छ।
बालुवाटार स्रोतका अनुसार मंगलबार साँझ ५ बजेपछि भएको छलफलमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन्।
बालुवाटार जानुअघि प्रचण्डले आज बिहान उपाध्यक्ष वामदेव गौतमसँग उनको निवास भैंसेपाटीमा छलफल गरेका थिए।
यी चार नेताबीच आइतबार र सोमबार पनि बालुवाटारमा कुराकानी भएको थियो। सोमबारको छलफलपछि निजी निवास बालकोट पुगेका प्रधानमन्त्री ओलीले ‘आजको छलफल जेरी खाएर गरिएको र भोलि तिते करेला खाएर छलफल गरेर’ निकास निकाल्ने बताएका थिए।
पछिल्लो समय नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि नेकपामा विवाद चुलिएको छ।