सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको छलफल सकिएको छ।
ओली-प्रचण्डबीच साउन २० गतेपछि आज पहिलो पटक पार्टीको आन्तरिक विवाद समाधानबारे छलफल भएको हो।
आजको छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए।
आजको छलफल सकारात्मक भएको प्रचण्डनिकट स्रोतले जनाएको छ।
‘आजको छलफल समाधान गर्ने तरिकाले सुरू भएको छ,’ प्रचण्डनिकट स्रोतले भन्यो।
पछिल्लो समय स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको माग उठेपछि नेकपामा विवाद चुलिएको हो।
अधिकांश स्थायी कमिटी सदस्यले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले पछिल्लो समय डाकिएको बैठक स्थगित गरिदिएका थिए। अहिले नेकपा स्थायी कमिटी बैठक अनिश्चित छ।
बैठक स्थगित भएपछि प्रधानमन्त्री ओलीसँग अर्का अध्यक्ष प्रचण्डले पटक-पटक सामूहिक छलफल गरेका थिए।
२० गतेको बैठकपछि भने दुई अध्यक्षबीच भेटघाट भएको थिएन।
यसअघि बुधबार एक टेलिभिजन सोको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टीको परिस्थिति बदलिने दाबी गरेका थिए।