प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग शनिबार टेलिफोनमा कुराकानी गरेका छन्।
उनीहरूबीच भविष्यमा द्वीपक्षीय हितका विषयमा छलफललाई जारी राख्ने कुरामा सहमति भएको छ।
प्रधानमन्त्री ओलीले भारतीय स्वतन्त्रता दिवसको अवसरमा मोदीलाई टेलिफोन गरी शुभकामना दिएका हुन्। उक्त अवसरमा ओली-मोदीबीच कोरोनाविरूद्ध लडाइँमा मिलेर काम गर्नेबारे पनि छलफल भएको थियो।
उक्त कुराकानीबारे परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ। जसमा प्रधानमन्त्री ओलीले नेपालका तर्फबाट भारत सरकार र जनतालाई स्वतन्त्रता दिवसको अवसरमा शुभकामना र बधाई दिएको उल्लेख छ।
ओलीले अर्थपूर्ण द्वीपक्षीय सहयोगको अपेक्षा गरेका थिए।
प्रधानमन्त्री ओलीले हालै भारत संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको अस्थायी* सदस्यमा निर्वाचित भएको बधाई दिँदै यो महत्वपूर्ण जिम्मेवारीको सफलताका लागि शुभकामनासमेत व्यक्त गरेका थिए। (* यसअघि अन्यथा पर्न गएकोमा सच्याइएको छ। -सम्पादक)