प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकका पहिरो पीडितलाई सुरक्षित स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्।
सिन्धुपाल्चोकमा पछिल्लो समय पटक पटक पहिरोले क्षति गरेको भन्दै देउवाले भूगर्भविदहरूले औंल्याएका जोखिमका बस्तीहरूलाई सुरक्षित स्थानान्तरण गर्द माग गरेका हुन्।
‘जोखिमका वस्तीका नागरिकलाई अविलम्ब सुरक्षित स्थानान्तरण गर्न प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउँदै सरकारसमक्ष माग गर्दछु,’ देउवाले आइतबार निकालेको विज्ञप्तिमा भनिएको छ।
सिन्धुपाल्चोकमा गएको पहिरोमा परेकालाई उद्धार तथा राहतमा सक्रियताका साथ काम गर्न उनले कार्यकर्तालाई आग्रह गरेका हुन्। सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ७ का तीन स्थान नागफुजे, भीरखर्क र नेवार टोलमा गए राति पहिरो जाँदा ९ जनाको मृत्यु र २४ जना बेपत्ता छन्।
बेपत्ताहरूको तीव्रताका साथ खोजी गर्न देउवाको माग छ। घाइतेलाई उपचारको व्यवस्था गर्न र पीडित परिवारलाई अतिआवश्यक सामग्रीहरू व्यवस्था गर्न कांग्रेसको माग छ।