नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयअन्तर्गत कोभिड १९ स्वयम् सेवा (सिभिएस) गठन भएको छ।
प्रवक्ता श्रेष्ठको सचिवालय अन्तर्गत रहने सिभिएसले कोभिड उपचार सम्बन्धी प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग गर्ने, मनोसामाजिक परामर्श दिने,आपतकालीन स्वास्थ्य परामर्श, आप्रबासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तिमा समन्वय तथा सहयोग गर्ने, कोभिड–१९ बारे सचेतना लगायतका काम गर्ने जनाइएको छ।
सिभिएसले नेपाल सरकारको कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी नीति, योजना र निर्देशलाई मुल मार्गदर्शन मानी कार्यान्वयनमा सहयोग पुर्याउने श्रेष्ठको सचिवालयले जनाएको छ।
‘संघीय सरकार लगायत तीनै तहका सरकार, सिसिएमसी, डिसिएमसी, स्वास्थ्य मन्त्रालय एवं. सम्बन्धित स्वास्थ्य संस्थाहरु र अन्य क्रियाशील सरोकारवाला संस्थाहरुले कोभिड १९ को नियन्त्रण र उपचारको सन्दर्भमा गरेको कार्यमा सहजीकरण एवम् समन्वय गरी सहयोग पुर्याउने छ’ श्रेष्ठको सचिवालयले भनेको छ, ‘सिभिएसका सदस्यहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कोभिड १९ संक्रमणको संभाव्यता र कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरुको पिसिआर परीक्षण गर्न सहजिकरण गर्नेछ।’
पिसिआर परीक्षणपछि चाँडो रिपोर्ट प्राप्तिको लागि पहल गर्ने र संक्रमण भए नभएको निश्चित नभएसम्मको लागि उक्त व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य अवस्थाको विशेष ख्याल राख्न सहयोग पुर्याउने काम सिभिएसले गर्ने जनाइएको छ।
त्यस्तै कोभिड संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई थप उपचार तथा अन्य सहयोग आवश्यक परेको खण्डमा अस्पताल, आइसोलेसन सेन्टर प्राप्त गर्न तथा त्यहाँ पुर्याउन सहयोग गर्ने भनिएको छ।
२९ सदस्यस्यीय सिभिएसमा इन्द्र राज भट्टराई, सुरेश काजी श्रेष्ठ, सुमन आचार्य, प्रेम श्रेष्ठ, शुभद्रा खड्का, चमेली अंगाई, रोहित गुरुङ, लक्ष्मी गोर्खाली लगायत छन्।