नेकपाभित्रको आन्तरिक विवाद समाधान भएसँगै उपाध्यक्ष वामदेव गौतम नेतृत्वको संगठन विभाग पनि सक्रिय बनेको छ।
नेकपा संगठन विभागको आइतबार बसेको बैठकले नेकपाका पार्टी सदस्यहरूको सदस्यता नवीकरण गर्ने निर्णय भएको छ।
महाधिवेशनमा केन्द्रित रहेर सदस्यहरुको तत्काल नवीकरण गर्ने निर्णय भएकाले अब यसबारेमा सर्कुलर हुने पार्टी कार्यालयका सचिव एवम् केन्द्रीय सदस्य ईश्वरी रिजालले सेतोपाटीलाई बताए।
मंसिरभित्र नवीकरण गर्ने गरी संगठन विभागले तीन महिने कार्ययोजना तयार पारेको हो। असोज मसान्तभित्र सदस्यहरूको विवरण संकलन गर्ने, कात्तिकभित्र अद्यावधिक र मंसिरभित्र नवीकरण गर्ने निर्णय संगठन विभागले गरेको हो।
गत माघमा बसेको केन्द्रीय कमिटीले २०७६ को चैत मसान्तभित्रनै सदस्यता नवीकारण गर्ने निर्णय गरेको थियो। कोरोना प्रकोपको कारणले नवीकरण हुन नसकेको हो। नेकपाले आउदो चैत २५ देखि चैत ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ।
नेकपामा २०७४ सालदेखि कुनै पनि पार्टी सदस्यको सदस्यता नवीकरण भएको छैन। पूर्वएमालेका ५ लाख र पूर्व माओवादीका ३ लाख गरी ८ लाख पार्टी सदस्य रहेको नेकपाको दावी छ।
त्यस्तै, संगठन विभागको बैठकले विभागको सदस्य र सचिवमा ज्ञानबहादुर भुजेललाई नियुक्त गर्न पार्टी सचिवलाई सिफारिस गरेको पार्टी कार्यालयका सचिव रिजालले बताए।
संगठन विभागको सचिवमा सिफारिस गरिएका भुजेल नेकपाका केन्द्रीय सदस्य हुन्।