प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनबारे छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा स्थायी कमिटी बैठकका निर्णय तल्ला कमिटीहरुमा सर्कुलर गर्ने निर्णय भएको स्राेतले जनाएकाे छ।
आजको बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए। गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले एउटा अध्यक्षले पुरै कार्यकाल सरकार चलाउने र अर्को अध्यक्षले पार्टीको सम्पूर्ण काम गर्ने निर्णय गरेको थियो।
त्यस्तै चैतमा महाधिवेशन गर्ने समेत निर्णय गरेको थियो। स्थायी समितिको निर्णय लगत्तै नेकपाको संगठन विभागले तीन महिनाभित्र पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ।
स्थायी कमिटी बैठकले एकताको कामलाई असोज महिनाभित्र गरिसक्ने, पार्टीमा अनुशासन कायम गर्ने, गुटबन्दीको अन्त्य गर्ने लगायतका निर्णय गरेकाे छ।
यस्ता विषयहरु कार्यान्वयनका लागि तल्ला तहसम्म सर्कुलर समेत गरिने भएको स्राेतले बतायो।
मन्त्रिपरिषद पुनर्गठन हुने चर्चा चलेका बेला यस विषयमा आज छलफल नभएको स्राेतकाे दावी छ।
'मन्त्रिपरिषदको पुनर्गठन हुन्छ। तर अहिले नै त्यसको तयारी छैन।' स्राेतले भन्यो,'मन्त्रिपरिषद पुनर्गठनका लागि कस्तो मापदण्ड बनाउने भन्नेमा समेत छलफल सुरु भएको छैन। सायद सचिवालय बैठक बसेपछि दुई अध्यक्ष बसेर अन्तिम निर्णय गर्नुहुन्छ होला।'