अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले पछिल्लो समय अख्तियारले उदाहरणीय काम गर्न नसकेको बताउँछन्।
पछिल्लो आठ/दश वर्ष यता अख्तियारले सानातिना मुद्दा लगाउने तर ठूला मुद्दाहरुलाई नदेख्ने प्रवृति देखा पर्दा उदाहरणीय काम नदेखिएको उपाध्यायले बताए।
सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा अख्तियारमा दक्ष मान्छेहरु नहुँदा आरोपपत्र सही ढंगले तयार नभएकाले साना, मसिना केसहरुमा अख्तियार अल्झिएको हुनसक्ने उनको भनाइ छ।
उनले भने ‘अहिले अख्तियारले उदाहरणीय काम गरेको देखिँदैन। सानातिना, मसिना केसहरुमा लागेको देखिन्छ। स्टिङ अपरेसन भनेको छ त्यसमा पनि २ हजार, ३ हजारका मान्छे समातिराखेको छ।’
नेतृत्व चयन गर्दा नै विचार पुर्याएर नगर्दाको परिणाम अहिले देखिएको उनको भनाइ छ। अख्तियारमा विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउने गरेको उनको भनाइ छ।
‘पहिलो कुरा अख्तियारमा जसले नियुक्ति गर्ने हो त्यो मान्छेले होस पुर्याएर नियुक्ति गर्नुपर्यो।
जसलाई नियुक्त गर्ने हो त्यसको व्याकग्राउण्ड पेपर पुरा खानतलासी गर्नुपर्यो। त्यो मान्छेले कहाँ काम गरेको थियो कस्तो काम गरेको थियो, त्यसले कुन उदाहरणीय प्रस्तुत गरेको थियो, त्यहाँका मान्छेहरुले त्यसको के मूल्याङ्कन गर्छन् सबै कुरा अध्ययन नगरिकन नियुक्त गर्न हुँदैन।’
राजनीतिक नेतृत्वले अख्तियारको प्रमुख आयुक्त छान्ने भएकाले गलत मान्छे नियुक्त गरेमा त्यसबाट निस्कने परिणामको जिम्मेवारी पनि छान्ने व्यक्तिहरुले नै लिनुपर्ने उपाध्यायले बताए।
अख्तियारमा जागिर खान मात्रै आउने व्यक्तिले कुनै पनि राम्रो नतिजा दिन नसक्ने उनले बताए। अख्तियार प्रमुखसँग काम गर्ने अठोट र लक्ष्य भए मात्र सही नेतृत्व दिन सक्ने उपाधयायको भनाइ छ। कुनैपनि सही नेतृत्व अख्तियारमा आउन सकेमा उदाहरणीय काम हुन जाने र अन्य आयुक्तहरुलाई पनि नियन्त्रणमा जान बाध्य पार्ने उनले बताए।
अख्तियार प्रमुख आयुक्त भइसकेका व्यक्तिहरु नै अख्तियाको कारबाहीमा पर्ने, अदालतमा मुद्दा पर्ने, योग्यता नपुगेर अदालतले हटाइदिनु पर्ने लगायतका क्रियाकलापले अख्तियारको लोकप्रियता घट्दै गएको स्पष्ट हुने उनले बताए।