नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई पारदर्शी जीवनशैली अपानाउन निर्देशन दिएको छ।
नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा आचार संहिताको पालना गर्न नेता तथा कार्यकर्ता र जनप्रतिनिधिहरूलाई निर्देशन दिइएको छ।
'पार्टीमा गुटबन्दी तथा अनुशासनहीनता अन्त्य गर्न, नीति, विधि र पद्धति स्थापित गर्न र नेता तथा जनप्रतिनिधिहरूको कार्यशैली र जीवनशैलीलाई मार्गदर्शन गर्न विगतमा तय गरिएको आचारसंहितालाई परिमार्जन गरी कडाइका साथ लागू गर्न निर्णय गर्दछ,'अपानिमा भनिएको छ,'सबैलाई, विशेषतःजिम्मेवार कमरेडहरूलाई पारदर्शी जीवनशैली अपनाउन र आफ्नो आचरण तथा कामप्रति जवाफदेही हुन निर्देशित गर्दछ।'
त्यस्तै, पार्टीका नीति, नेता र कार्यकर्ताविरूद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हितविपरीत गर्ने प्रवृत्तिलाई कडाइसाथ रोक्न समेत नेकपाले निर्देशन दिएको छ।
नेकपाले सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउने दाबी गरेको छ।
'भ्रष्टाचार तथा अनियमितताका सम्बन्धमा सरकार आफैंले थालेका छानबिन प्रक्रियालाई यथाशक्य चाँडो निष्कर्षमा पुर्याउने। सर्वजनिक रूपमा उठेका जनसरोकारका विषयमा सत्यतथ्य छानबिन गर्ने,'अपानिमा भनिएको छ,'भ्रष्टाचार र अनियमित कार्यप्रति शून्य सहनशिलताको मान्यताअनुरूप दोषीमाथि कडा कारबाही गर्ने र भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने। अनुपयुक्त प्रशासनिक खर्च कटौती गर्ने र मितव्ययिताको नीति अवलम्बन गर्ने।'