विश्व व्यापार संगठन ( डब्लुटिओ)ले चिनियाँ सामानमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करले अन्तर्राष्ट्रिय व्यापार कानुनको उल्लंघन गरेको जनाएको छ।
संगठनको तीन सदस्यीय व्यापार विज्ञ समूहले मंगलबार राष्ट्रपति ट्रम्पले एकतर्फी रूपमा ३ सय ५० बिलियन अमेरिकी डलर बराबरको सामानमाथि लगाएको कर गैरकानुनी भएको बताएको हो।
ट्रम्पले कर बढाउने आफ्नो कदमलाई बेइजिङको अनुचित व्यापार अभ्यास विरूद्धको जवाफ भएको बताउँदै आएका छन्।
संगठनको यो निर्णयले यी दुई देशको व्यापार युद्धमा चीनलाई बलियो अवस्थामा पुर्याएको छ। र यसले सानो बाध्यकारी प्रभाव पार्नसक्छ।
गएको डिसेम्बरमा ट्रम्पले संगठनको विवाद समाधान अदालतमा हुने नयाँ मनोनयनहरू सम्पूर्ण रूपमा रोकेका थिए। निर्णयले अदालतलाई प्रभावकारी ढंगले काम गर्न नसक्ने बनाएको छ।
वासिङ्टनमा आधारित विश्लेषण फर्म पान्जिया पोलिसीका टेरी हेन्सले मंगलबारको आदेशलाई 'अर्थहीन' भएको बताएका छन्।
'प्यानलले गरेको निर्णय सही छ। दुर्भाग्यवस, अपील गर्ने निकायको अनुपस्थितिमा संयुक्त राज्य अमेरिकाले यस निर्णयलाई शून्यमा मात्र अपील गर्न सक्छ र विश्व व्यापार संगठनका सदस्यहरू प्यानल प्रतिवेदन अपनाउन सक्नेछैनन्', विश्व व्यापार संगठनको अपिलिय निकायमा दुईपटक प्रमुख न्यायाधीश भइसकेका जेम्स वाकसले भने।
'यद्यपि चीनले यस निर्णयको पूर्व नै अमेरिकी उपायको प्रतिकार गरिसकेको छ, त्यसैले यस अवस्थामा अपीलको अधिकारलाई अस्वीकार गर्दा व्यावहारिक भिन्नता नहुन सक्छ,' उनले थपे।
चीनले अप्रिल सन् २०१८ मा डब्ल्यूटीओसँग अनुसन्धानका लागि आग्रह गरेको थियो। त्यसपछि पनि चिनियाँ सामानहरूमा अमेरिकाले शुल्क लगाएका थप दुईवटा घटनाहरू भएका थिए।
यसको उत्तरमा अमेरिकाले अमेरिकी प्रविधि, बौद्धिक सम्पत्ति र वाणिज्य रहस्यहरूको चीनले दुरुपयोग गरेकाले कर थपिएको जनाएको थियो।
डब्लुटिओले चिनियाँ सामानमाथि लगाइएको अतिरक्त कर र सार्वजनिक नैतिक उदेश्यलाई कायम राख्न खोजिएको कुराबीचको सम्बन्धलाई बुझ्नेगरी अमेरिकाले कुनै स्पष्टिकरण नदिएको बताएका छन्।
यसैगरी डब्लुटिओले अतिरिक्त करहरू संगतिपूर्ण नभएको र अमेरिकाले लगाएको कर उसले सहमति जनाउँदै आएको भन्दा बढी भएको जनाएको छ।
प्यानलले अमेरिकाले तर्क दिएजस्तो डब्लुटिओ भन्दा बाहिर गएर दुई देशले गरेको सम्झौतालाई समाधान मान्न नसकिने पनि बताएको छ।
ट्रम्पले अमेरिकामाथि अन्यायपूर्ण व्यवहार गर्नेको गरेको भन्दै संगठनको पटकपटक आलोचना गर्दै आइरहेका छन्। तर, सेप्टेम्बर ७ को एक प्रेस कन्फ्रेन्समा भने उनले पछिल्लो समय डब्लुटिओले आफूहरूलाई राम्रो गरिरहेको बताएका थिए।
'हामी विश्व व्यापार संगठनमा कहिल्यौं जित्दैनथ्यौं', उनले भनेका थिए,'अब अचानक आएर हामीले धेरै मुद्धाहरू जितिरहेका छौं। हामीले भर्खरै ७ विलियन डलरको मुद्धा जित्यौं। उनीहरू हामीसँग पहिलेभन्दा धेरै फरक तरिकाले कुरा गरिरहेका छन् किनकी उनीहरू बदलिएन भने हामी निस्कनेछौं', उनले भने।
डब्लुटिओले मंगलबार गरेको निर्णयका बारेमा सोधिएको प्रश्नमा ट्रम्पले आफू संस्थाको ठूलो प्रशसंक नभएको बताए। निर्णयका बारेमा जाँच गर्ने उनको भनाइ छ।
त्यसअघि अमेरिकाका वाणिज्य प्रतिनिधि रोवर्ट लाइटिसाइजरले उक्त फैसला डब्ल्यूटीओको अप्रभावकारिताको प्रमाण भएको बताएका थिए।
'प्यानलको निर्णयले डब्लुटिओ चीनको घातक प्राविधिक अभ्यासलाई पूर्णरूपमा रोक्न असक्षम रहेको छ भनेर ट्रम्प प्रशासनले चारवर्षदेखि भन्दै आएको कुरालाई पुष्टि गरेको छ' एक बयानमा उनले भने, 'यध्यपी प्यानलले अमेरिकाले चीनले बौद्धिक सम्पति चोरेको व्यापक प्रमाणहरूमाथि विवाद गरेको छैन्। उसको निर्णयले डब्लुटिओले यस्ता नराम्रा आचरणको कुनै समाधान दिदैंन भन्ने देखाउँछ।'
लाइटिसाइजरले अमेरिकालाई असमान व्यापार अभ्यासको विरूद्ध बचाउ गर्न अनुमति दिनुपर्ने बताउँदै ट्रम्प प्रशासनले चीनलाई डब्लुटिओको प्रयोग गर्दै अमेरिकी मजदुर, व्यवसाय, किसान र पशुपालकको फाइदा लिन नदिने बताए।
निर्णयले पहिलो चरणको व्यापार सम्झौतामा कुनै असर नगर्ने पनि उनले बताए।
अमेरिकास्थित चिनियाँ दूतावासले मंगलबार ट्वीट गर्दै अमेरिकाले निर्णयको सम्मान गर्दै बहुआयामिक व्यापारमा व्यवहारिक कदम चाल्नेमा आशावादी रहेको जनाएको छ।