प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विभिन्न पदमा हुने नियुक्तिमा सरकारसँग भाग नखोजेको बताएको छ।
विश्वविद्यालयहरूका पदाधिकारी नियुक्ति र संवैधानिक आयोग लगायतमा प्रतिपक्षले भाग खोजेको चर्चा भइरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नियुक्तिका लागि पार्टीले कसैलाई निवेदन नचढाएको बताएका हुन्।
‘संवैधानिक निकायका पद खाली छन्। विश्वविद्यालयमा पदाधिकारी छैनन्। प्रदेशको नामाकरण हुन सकेको छैन। यस्तो अवस्थामा प्रतिपक्षका कारण निर्णय भएका छैनन् भनेर दोष लगाउने ठाउँ छैन,’ शर्माले भने, ‘नियुक्तिमा कांग्रेसले यो दिनुपर्यो भन्ने निवेदन चढाइरहेका छैनौं।’
विभिन्न पदहरूमा यो वा त्यो व्यक्ति नै हुनुपर्छ भनेर अप्ठ्यारो बनाउने काम पनि पार्टीले नगरेको शर्माले बताए।
‘रिक्त पदमा नियुक्ति मात्र होइन अरू कैयौं विषय प्रधानमन्त्रीका प्राथमिकतामा छैनन्,’ उनले भने, ‘कोरोना महामारीका बेला अस्पतालमा भेन्टिलेटर बनाउनुस् भनेका छौं। विदेशमा रहेकालाई उद्धार गर भनेका छौं। तर सरकारले यी काम प्राथमिकतामा राखेको छैन।’