चिनियाँ एप टिकटकलाई अमेरिकामा निरन्तरता दिन अमेरिकी कम्पनी ओराकलसँग भएको सम्झौतामाथि अमेरिकी राष्ट्रपतिले सहमति प्रकट गरेका छन्।
शनिबार संवाददाताहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी कम्पनी ओराकल र वालमार्टलाई टिकटकसँग साझेदारी गर्न आफूले समर्थन गरेको बताए।
ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा भएको भन्दै टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने आदेश दिएका थिए।
टिकटकको माउ कम्पनीले बाइटडान्सले आफूसँग उपलब्ध तथ्यांक चिनियाँ सरकारलाई बुझाउनसक्ने भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ।
शनिबार ट्रम्पले चिनियाँ र अमेरिकी कम्पनीबीच भएको सम्झौताले टिकटकका सय करोड अमेरिकी प्रयोगकर्ताको तथ्यांक सुरक्षित हुने दाबी गरे।
'१०० प्रतिशत सुरक्षा हुनेछ', ट्रम्पले भने।
'सम्झौतालाई मैले आशिर्वाद दिएको छु', ट्रम्पले भने, 'म सम्झौताको अवधारणालाई स्वीकार गर्छु।'
सम्झौताका लागि चिनियाँ सरकारको पनि सहमति आवश्यक पर्छ। यसका बारेमा भने बाइटडान्सले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
ट्रम्प प्रशासनले आइतबारबाट टिकटक एपलाई अमेरिकामा डाउनलोड गर्न नदिने बताएको केही दिनपछि राष्ट्रपति ट्रम्पले सम्झौतामा आफ्नो सहमति प्रकट गरेका हुन्।
अमेरिकी प्रशासनले टिकटकलाई प्रतिबन्ध लाउने पूर्वनिर्धारित मितिलाई सेप्टेम्वर २७ सम्मका लागि पर सारेको छ।
उसले सकारात्मक परिवर्तन देखिएको भन्दै पूर्वनिर्धारित मिति सारेको हो।