महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सहायक सामग्री उत्पादनका लागि प्रदेशस्तरीय उद्योग स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।
मन्त्री गुरुङले निजी क्षेत्रको साझेदारीमा उद्योगहरु स्थापना गरी अपाङ्गता भएका व्यक्तिको पहुँचमा पुग्ने गरी सहायक सामग्री उत्पादनको व्यवस्था गर्न राष्ट्रिय अपाङ्ग कोषलाई सचेत समेत गराए।
राष्ट्रिय अपाङ्ग कोषले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘सहायक सामग्री उत्पादन एवम् पुनर्स्थापना सेवाको सहज पहुँच तथा विस्तार’ विषयक अर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सहायक सामग्रीको उत्पादनलाई उद्योगको रुपमा विकास गरेर अघि बढाउने सोच सरकारले अघि सारेको बताए।
‘निजी क्षेत्रको सहकार्यमा एकीकृत ढंगले सहायक सामग्री उत्पादन गर्ने उद्योग स्थापना गरेर अघि बढ्ने काममा लाग्न म कोषलाई आग्रह गर्दछु,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि नीतिगत, कानुनीलगायतका आवश्यक व्यवस्था सरकारले गर्नेछ।’
उनले अपाङ्गता भएका व्यक्तिहरुको सहायक सामग्रीको गुणस्तरीय उत्पादनमा जोड दिन पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
अपाङ्गताको अवस्था फरकफरक हुने भएकाले सोही अनुसारको सहायक सामग्री उत्पादनमा ध्यान दिनुपर्ने मन्त्री गुरुङको भनाइ छ।
कार्यक्रममा बोल्दै समाज कल्याण परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्रीको अभाव हुन नदिने गरी कोषलाई परिचालन गर्ने बताएका थिए।
कोषका अध्यक्ष रमेश लामा, राष्ट्रिय अपाङ्ग महासंघ, नेपालका अध्यक्ष मित्रलाल शर्मालगायतले अपाङ्गता भएका व्यक्तिहरुको सहज पहुँच हुने गरी स्थानीय तहमै आवश्यक सामग्री तयार हुने व्यवस्था गरीदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए।