नेपाली कांग्रेसमा आन्तरिक विवाद बढ्दै गएको छ।
सभापति शेरबहादुर देउवाले एकलौटी हिसावले विभागलगायतमा गरेका मनोनयन खारेज गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका केन्द्रीय सदस्यको माग छ।
उनीहरूले असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा देउवाका कार्यशैलीविरूद्ध हस्ताक्षर बुझाउनेसमेत तयारी गरेका छन्।
शनिबार बसुन्धरामा पौडेल पक्षका केन्द्रीय सदस्यहरूले अब कसरी अगाडि बढ्ने भन्ने रणनीतिका लागि बैठक गरेका थिए।
उक्त बैठकले आइतबार सभापति देउवालाई केन्द्रीय कार्यालयमार्फत् विरोध पत्र बुझाउने निर्णयसमेत गरेको छ।
‘विरोध पत्र आज केन्द्रीय कार्यालयमा दर्ता गर्दैछौं,’ केन्द्रीय सदस्य गुरू घिमिरेले सेतोपाटीसँग भने।
देउवाका कार्यशैलीविरूद्ध पौडेल र सिटौला एक भएर जाने पनि उनीहरूबीच कुराकानी भएको छ।
त्यसका लागि सिटौला आज बिहान ९ बजे पौडेल निवास बोहराटार जाँदैछन्। शनिबार पौडेल पक्षका भेलामा सिटौला पक्षका केन्द्रीय सदस्य उपस्थित नभए पनि टेलिफोनबाट कुराकानी भएको थियो।
सिटौला र उमाकान्त चौधरीले बैठक चल्दै गर्दा टेलिफोन गरेका थिए।
पौडेल पक्षको भेलामा केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, शेखर कोइराला, मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, गुरू घिमिरे, नवीन्द्रराज जोशी, कमला पन्त, जीवन परियार, दीपक गिरीलगायत उपस्थित थिए।
सभापति देउवाले २० भन्दा बढी विभागमा गरेको मनोनयन खारेज हुनुपर्ने अडान उनीहरूले राखेका छन्। सकेसम्म फागुनमै महाधिवेशन हुनुपर्ने उनीहरूको जोड छ।
पार्टीलाई विधिसम्मत चलाउन सभापति देउवालाई ध्यानाकर्षणसमेत गराउन खोजेको घिमिरेको भनाइ छ। ‘आज विरोधपत्र बुझाउनुअघि पौडेल र सिटौलाबीच कुराकानी पनि हुन्छ,’ उनले भने।
सभापति देउवाले महाधिवेशन सकेको छ महिनाभित्र गरिसक्नुपर्ने विभागलगायतको मनोनयन १४ औं महाधिवेशनको मुखमा धमाधम गरेपछि पौडेल र सिटौला पक्षले महाधिवेशनकै निष्पक्षतामा प्रश्न उठाएका छन्।
सभापति देउवा समूहले भने विधानअनुसार विभाग गठन गरिएको बताउने गरेको छ। विभाग गठनमा ढिलाइ भए पनि त्यो विधानविपरीत भन्न नमिल्ने तर्क उनीहरूको छ।