नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले रिक्त रहेको उपसभामुख पदलाई पूर्णता दिन ढिलाइ गर्न नहुने बताएका छन्।
उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले गत माघ ६ गते राजीनामा दिएकी थिइन्। तुम्बाहाङ्फे अहिले कानून, न्याय तथा संसदीय मामिला मन्त्री छिन्।
उपसभामुख रिक्त रहेको आठ महिना हुँदा पनि पूर्णता दिनेबारे सरकार वा प्रतिपक्ष दल मौन रहेको कोइरालाको भनाइ छ।
कांग्रेसले संवैधानिक आयोगमा भागबन्डा खोज्नुभन्दा संवैधानिक परिषद सदस्य समेत रहने उपसभामुख निर्वाचनलाई दवाव दिनुपर्ने कोइरालाले बताएका हुन्।
‘कांग्रेसले विभिन्न संवैधानिक आयोगहरूमा भागबन्डा खोज्नुभन्दा संवैधानिक परिषदको (उपसभामुख निर्वाचन) पूर्णतामा दवाव दिनुपर्ने होइन र?,’ आइतबार ट्वीट गर्दै कोइरालाले भनेका छन्, ‘उपसभामुखको पद यति लामो समयसम्म रिक्त रहँदा प्रतिपक्ष, वुद्धिजीविहरू र कानून व्यवसायी किन मौन?’
संविधानमा सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने उल्लेख छ। सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि उक्त पदमा नेकपाबाट अग्निप्रसाद सापकोटा नियुक्त भएका थिए।