प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने बताइएको छ।
आइतबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो। दुई अध्यक्षबीच कुरा नमिलेपछि मन्त्रिपरिषद् पुनर्गठन केही ढिलो हुनसक्ने अनुमान गरिएको छ।
प्रधानमन्त्री ओलीले १/२ दिनमै मन्त्रिपरिषद्को पुनर्गठन गर्न चाहेका छन्।
प्रधानमन्त्री निकटका एक स्थायी कमिटी सदस्यले आइतबार सेतोपाटीसँग कुराकानी गर्दै आज, भोलिमै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए।
प्रधानमन्त्री ओलीले टुक्र्याइएका मन्त्रालय र खाली भएका मन्त्रालयमा मात्रै मन्त्री थप्न लागेकाले कुरा नमिलेको प्रचण्ड निकट स्रोतको दाबी छ।
प्रधानमन्त्री ओलीले तीन वटा मन्त्रालय थप्ने तयारी गरेका छन् भने तीन मन्त्रालय खाली छ। यस्तो अवस्थामा तीन राज्य मन्त्री हटाएर ६ जना मन्त्री थप्न सकिन्छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार भने प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि केही समय कुर्नुपर्ने धारणा राखेका छन्।
स्रोतका अनुसार प्रचण्डले उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बनाउन चाहेका छन्। गौतमबारेविरूद्ध मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
केही मन्त्रीहरूलाई हटाएर पुनर्गठन गर्नुपर्ने पक्षमा प्रचण्ड रहेकाले कुरा नमिलेको उनी निकट स्रोतको दाबी छ।
अहिलेका धेरै मन्त्रीहरू हटाएर पुनर्गठन गर्न प्रधानमन्त्री तयार हुनसाथ मन्त्रिपरिषद् पुनर्गठन भइहाल्ने प्रचण्ड निकट एक नेताले बताए।